काठमाडौँ। माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)र नेपाल कम्युनिष्ट पार्टी (जनवादी)बीच पार्टी एकीकरण भएको छ । एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा (एकीकृत समाजवादी) सँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (जनवादी)बीच मंगलबार एकीकरण भएको हो ।
तत्कालीन नेकपा माओवादीसँग असन्तुष्ट हुँदै महताले २०६२ सालमा नेकपा (जनवादी) गठन गरेका थिए । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा दुवै दलका अध्यक्षले सम्बोधन गरेका थिए। पार्टी एकीकरण घोषणा कार्यक्रममा दुवै दलका शीर्ष नेताहरुको उपस्थिती थियो । एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष माधव नेपालले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताए ।
उनले सम्बोधनकै क्रममा नेपाली राजनीतिमा आफ्नो (नेकपा एस)को ‘हैसियत’ स्थापित गरिसकेको बताए । नेपालले भने– ‘सुदूरपश्चिममा सबैभन्दा ठूलो पार्टी भएको, दुई नम्बर प्रदेशमा जसपाबाहेक सबैभन्दा ठूलो पार्टी भएको दृष्टान्त सुनाए । त्यस्तै उनले कर्णालीमा ‘विद्रोहको आगो’ बाल्ने पनि एकीकृत समाजवादी नै हो । यो सानो दुःखले भएको होइन । यो सानो आन्दोलनबाट आर्जेको शक्ति होइन।’