धनगढी। नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य एवम् धनगढी उप–महानगरपालिकाकी उप–प्रमुख सुशीला मिश्र भट्टले आगामी निर्वाचनमा धनगढी उपमहानगरपालिकाको उपप्रमुख पदमा नदोहोरिने बताएकी छन् ।
काठमाडौँबाट फर्किएपछि धनगढीस्थित आफ्नै निवासमा सोमबार भेटघाट कार्यक्रममा बोल्दै उनले आगामी स्थानीय तहको चुनावमा पुनः उपमेयर पदमा नदोहोरिने घोषणा गरेकी हुन्।‘पार्टीले आफूलाई सक्रिय ठानेर जुन जिम्मेवारी दिन्छ‚ त्यस ठाउँमा रहन्छु,’ उनले भनिन्, ‘धनगढी उपमहानगरपालिकाको उप–मेयर पदमा दोहोरिँदैन।
’ उनले अहिले नै यो र उ पदका लागि उठ्ने भनेर कुनै सोच नबनाएको बताइन् । पार्टीभित्र महिलाको सहभागिता र सशक्त भूमिका बनाउनका लागि आफू कटिबद्ध भएर लाग्ने उनको भनाइ छ । ‘म प्रदेशको महिलाको तर्फबाट केन्द्रीय समितिमा निर्वाचित भएकाले मेरो महिलासँगको जिम्मेवारी पनि थपिएको छ,’ उनले भनिन्। पार्टीलाई सशक्त, लोकप्रिय र सबै जनताको पार्टी बनाउन आफू कटिबद्ध भएर लाग्ने उनको भनाइ छ । उपमेयर भट्ट नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सुदूरपश्चिमबाट महिला कोटामा केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् ।