काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका छन् ।
आइतबार शुरु भएको माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिएका कारण पार्टी एकता जोगाउन नसकेको बताए। ‘नेकपालाई रक्षा गर्न सकेनौं ।
किन गर्न सकेनौं ? कसैले कसैलाई दोष दिएर उम्कन सकिन्छ ? किनकी हामी हाम्रा मान्यताहरुमा, लक्ष्यहरुमा आफूलाई केन्द्रित गर्न सकेका छैनौं,’ उनले अघि भने, ‘हामी कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिाका कारण महान उद्देश्यहरुमा पछाडि परेका छौं ।’
यद्यपि एमाले र माओवादीको एकताका लागि आफूहरुले गरेको प्रयास इमान्दार भएको उनले बताए । पोखरेलले भने, ‘नेकपा गठन गलत थिएन, त्यो ऐतिहासिक आवश्यकता थियो, तर त्यसलाई जोगाउन नसकेकोमा मलाई पछुतो छ।’ एमाले महासचिव पोखरेलले माओवादीतर्फ इंगित गर्दै आजको परिर्वतनलाई कुनै दल विशेषको उपलब्धीका रुपमा चित्रण गर्नु इतिहासप्रति अन्याय हुने बताए।
यो सामूहिकताको परिणाम भएको बताए । यसलाई कुनै दल विशेषको भन्दा आफूले आफैंलाई च्याम्पियन माने पनि यसलाई संस्थागत गर्न नसक्ने उनले बताए। माओवादी केन्द्रले गणतन्त्र, संघीयता, धर्म निपरेक्षता, समानुपातिक समावेशी लगायतका परिर्वतन आफ्नो उपलब्धी भएको दाबी गर्ने गरेको छ ।