धनगढी। धनगढीका एक अटो चालकले यात्रुको छुटेको पर्स र नगद फिर्ता गरेका छन् । ट्राफिक चौराहाबाट एलएन चोक तर्फ जाँदै गरेको सु.प्र.प ००१ ह ३२२३ नम्बरको अटोमा सवार यात्रुको पर्स अटो सञ्चालक खडक बहादुर बलायरले फिर्ता गरेका हुन् ।
अटोमा छुटेको पर्स र नगद फेला पारी उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएका थिए । उक्त पर्समा रहेको नगद भारतीय रुपैंया २ हजार २२० र नेपाली रुपैंया १ हजार ७९५ तथा अन्य कागज पत्र सहित रहेका थिए ।
उक्त पर्स त्रिनगर माध्यमिक विद्यालयका लेखापाल पदम राज जोशीको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अटोमा छुटेको पर्स, नगद र कागजपत्र अटो चालक बलायरले सम्बन्धित व्यक्ति जोशीलाई बुझाएका छन् । अटो चालकले देखाएको ईमान्दारीता प्रति जिल्ला प्रहरी कार्यालय कैलालीले धन्यवाद व्यक्त गरेको छ ।


