काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई मतदान नगर्नेहरुको भावनालाई पनि समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन्। केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले आफू सबैको सभापति बनेर काम गर्ने बताए।
‘मलाई भोट हाल्ने वा नहाल्ने सबैको सभापति मै हुँ। सबैको भावनालाई कदर गरेर म पार्टी चलाउँछु । यसमा सबैले सहयोग गर्नुहोला’, देउवाले भने। उनले महाधिवेशनका सबै तीतामिठा क्षण बिर्सेर पार्टीलाई सुदृढ बनाउन सबै सक्रिय हुनुपर्ने बताए। सभापति देउवाले कांग्रेस देशकै सबैभन्दा समावेशी पार्टी बनेको भन्दै तल्लो तहदेखि नै महिला, आदिवासी,जनजाति, दलित, मुस्लिम, थारु लगायत सबैलाई नेतृत्वमा अवसर दिइएको देउवाले बताए।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र प्रदान गरेका थिए । २४–२७ मंसीरमा काठमाडौंमा सम्पन्न कांग्रेस महाधिवेशनबाट पदाधिकारीसहित १३४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।


