कैलाली। कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको शव एक साता बित्दा पनि शव उठेको छैन । पोस्टमार्टमपछि उनको शव अस्पतालमै छ। हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै उनका आफन्तले अस्पतालबाट शव उठाउन मानेका छैनन् ।
अमरावती सामुदायिक वनमा मृत फेला परेका उनको शव ३ दिनपछि घटनास्थलबाट उठाइएको थियो । दोषी पक्राउ नपरेसम्म बनबाट शव उठाउन नदिने भन्दै उनीहरूले शव उठाउन दिएका थिएनन्। पीडित परिवार, स्थानीय, प्रहरी प्रशासन र विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनीधिबीचको छलफलपछि ३ दिनपछि उठाइएको शव टीकापुर अस्पतालमा पोस्टमार्टमपछि अस्पतालमै राखिएको छ ।
मृतक अर्जुनका आफन्त तथा स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी आजीवन कारावासको सजाय हुनुपर्ने माग गर्दै शव नउठाएर विरोध प्रदर्शन र राजमार्ग अवरुद्ध गरिरहेका छन् । अर्जुन दासको आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवार भारतमा गई मजदुरी गर्दै आएको स्थानीयले बताएका छन् । स्थानीय ललित ताम्राकारका अनुसार रोजगारीका लागि उनी भारत आउने जाने गरिरहन्थे । पछिल्लो समय करिब एक महिनादेखि उनी गाउँमै रहेको कमल साउदको सिमेन्ट ब्लक उद्योगमा ब्लक बनाउने काम गर्दै आएका हुन् ।
अर्जुन दासको हत्याको विरोधमा कैलालीको लम्कीमा शुक्रबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरियो । दोषीलाई पक्राउ गरी कारबाही गर्न दबाब दिन राजमार्ग अवरुद्ध पारेको मृतक अर्जुनका आफन्तले बताएका छन् । अर्जुन दासको हत्याको विरुद्ध संघर्ष समितिका संयोजक ललित परियारले राजमार्ग शुक्रबार साझ ४ बजेसम्म र अवरुद्ध गरिएको हो ।अपराधीलाई आजीवन कारावासको सजाय हुनुपर्ने, मृतक अर्जुन दासलाई सहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, पीडितका बालबालिकालाई उच्च शिक्षाको ग्यारेन्टी गर्नुपर्ने, पीडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र अमरावती सामुदायिक बनमा १० कट्ठा जग्गा छुट्याई अर्जुनको सालिक निर्माण गर्नुपर्नेर्लगायतका आफूहरूको माग रहेको संघर्ष समितिका संयोजक परियारले बताए।
गत शुक्रबार करिब ५ बजेतिर उनी घरबाट निस्केका थिए । शनिवार उनको शव रुखमा बाँधेर टाउको काटिएको अवस्थामा अमरावती सामुदायिक वनमा फेला परेको थियो । जंगलमा घाँस काट्न गएकाहरूले उनको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। दासको हत्या भएपछि स्थानीयले ललित परियारको संयोजकत्वमा संघर्ष समिति समेत बनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले घटनामा संलग्नहरूको पहिचान भइसकेका र उनीहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न आफूहरू लागिपरेको बताएका छन् । उनले घटनाका अपराधी पनि उम्कन पाउनका लागी हामी लागेका र घटनामा संलग्न आरोपित प्रहरीले पक्राउ गरी अनुसन्धान जारी रहेको बताएका छन् ।