कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनाको संक्षिप्त अवधारणा पत्र स्वीकृत गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बसेको मन्त्रिपरिषद्को बैठकमा पेस गरेको आर्थिक वर्ष २०७८/७९–२०८२/८३ को संक्षिप्त अवधारणा पत्रलाई स्वीकृत दिएको हो ।
प्रदेश योजना आयोगले तयार पारेको सो अवधारणापत्रले प्रदेशको समग्र विकासका लागि योजना बनाउन सहयोग पुग्ने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्। यस्तै मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेशका दुई वटा स्थानीय तहमा वडा थप गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
अछामको रामारोशन गाउँपालिका र बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गर्न सङ्घीय सरकारलाई सिफारिस गरिएको बताइन् । ‘गाउँ सभाबाट निर्णय पारित भएर आएको थियो। सबै प्रक्रिया पुगेकाले हामीले सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेका छौँ’ उनले भनिन् । रामारोशन गाउँपालिकामा अहिले सात वडा रहेको छ। सो गाउँपालिकामा वडा विभाजन गरी १२ बनाइने छ भने नौ वटा वडा रहेको बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गरी ११ बनाइने छ ।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सिफारिसमा पेस भएको अस्थायी रूपमा कर्मचारी दरबन्दी र फर्म नवीकरण गर्ने समयावधि र जरिवाना मिनाहा सम्बन्धमा पनि निर्णय भएको छ। प्रदेश सरकारले केही महिनाअघि सञ्चालनमा ल्याएको प्रदेश राजपत्र छापाखानामा अस्थायी रूपमा कर्मचारी दरबन्दीका लागि निर्णय गरेको मन्त्री जोशीले बताइन् । ‘छापाखानामा एक कार्यालय सहयोगी, प्राविधिक सहित तीन जना कर्मचारी अस्थायी रूपमा भर्ना गरिने छ’ उनले भनिन् । यस्तै, प्रदेशमा रहेका फर्महरू नवीकरण नभएकाले उनीहरूको म्याद थप गरी पाँच प्रतिशत जरिवाना राखिएको उनले बताइन् ।