कैलाली। कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दासको हत्याविरुद्ध इलाका प्रहरी कार्यालय टीकापुर अगाडि मंगलबार प्रदर्शन गरिएको छ । घाँटी छिनालेर हत्या गरिएका कैलालीका अर्जुन दासका हत्यारालाई कानूनी दायरामा ल्याउनुपर्ने भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले प्रहरी कार्यालय अगाडि हत्यारालाई सार्वजनिक गर्न र शान्ति सुरक्षाको ग्यारेन्टी गर्न माग राख्दै नाराबाजी गरेका थिए । ‘हत्या हिंसा बन्द गर, हत्यारालाई फाँसी दे’ लगायत नाराबाजीसहित स्थानीयले प्रदर्शन गरेका हुन्। जानकी गाउँपालिका–९ का २५ वर्षीय दास पुस २ गते साँझ घरबाट निस्केका थिए । राति घर नफर्केका दासको शव पुस ३ गते दिउँसो स्थानीय घाँस काट्ने महिलाले अमरावती सामुदायिक वनमा देखेका थिए । प्रहरीका अनुसार सामुदायिक वनको करीब १ किलोमिटरभित्र दासको विभत्स र क्रुर ढंगले हत्या गरिएको छ। उनलाई रुखमा बाँधेर नग्न बनाइ घाँटी छिनालेर हत्या गरिएको छ। प्रहरीले उनको शव पोस्टमार्टमका लागि सोमवार नै टीकापुर अस्पतालमा राखेको छ । मृतकका आफन्तले शव बुझ्न मानेका छैनन्। यसैबीच प्रहरीले १ जनालाई पक्राउ परेको छ तर पक्राउ पर्ने व्यक्तिलाई हालसम्म सार्वजनिक गरिएको छैन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले हत्या प्रकरणबारे अनुसन्धान जारी रहेकाले पक्राउ पर्नेको अवस्था सार्वजनिक नगरेको बताए ।
हत्यामा २ जनाभन्दा बढी व्यक्ति संलग्न रहेको र पहिचान समेत भइसकेको डीएसपी जोशीले बताए । दासको हत्या भएपछि स्थानीयले ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाएका छन् । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले कमल साउदलाई आइतबार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि जनाएको छ। मृतक दासको हत्यापछि फोनमा भएको कुराकानीको अडियोको माध्यमबाट प्रहरीले अनुसन्धान गरिरहेको छ ।अडियोमा ‘मनोज’ नाम गरेका व्यक्तिले अर्जुनको हत्या गरेर भारततर्फ जान लागेको बताएका छन् । मनोज नाम गरेका व्यक्तिले आफूले दासको हत्या गरेर रुपैडिया नाका हुँदै भारत गइरहेको बताएका छन् । ‘दाइ मनोज बोल्न लाछु,’ फोन कुराकानीमा भनेका छन्, ‘घाँटी छिनाले दाइ, हामी ब्याङ्लोर हिँडिसक्यौं । अहिले रुपैडिया नाका छु ।’