दार्चुला। दार्चुलामा निर्माण कामदारको रुपमा भारतीय श्रमिक बढी छन् । स्थानीयले रोजगारी नपाएको गुनासो बढिरहे पनि दार्चुलामा विकास निर्माणका योजना र व्यक्तिगत काममा भने भारतीय कामदारको संख्या बढ्दो छ ।
स्थानीयस्तरमा दक्ष कामदार कम हुँदा मुख्य मिस्त्री र कामदारको रुपमा भारतीय श्रमिकले बढी काम पाएका हुन् । तर रोजगारीको खोजीमा अधिकांश स्थानीय भने भारततिर जाने गरेका छन् । मुख्य मिस्त्री तथा कामदारको रुपमा नेपाली श्रमिक भन्दा भारतीय श्रमिक बढी रहेको पाइएको छ । घर निर्माणमा स्थानीय कामदारले राम्रो ‘फिनिसिङ’ गर्न नसक्ने हुँदा भारतीय कामदार बोलाउनु परेको घर मालिकहरु बताउँछन् । महाकाली नगरपालिका–३ मा नरेन्द्र बडूले ‘नेपाली कामदारले उनीहरूको तुलनामा दक्षता कम भएर होला कमै काम गर्न सक्ने बताए ।
नेपाली राम्रो मिस्त्रीलाई काममा लगाउनुपर्दा पारिश्रमिक बढी लिने गरेको बताए । अधिकांश भवन निर्माण कार्यमा भारतीय श्रमिकले काम पाउँछन् । राम्रो ज्याला पाइने भएकोले घरमा प्लास्टर, रंगरोगन, फिनिसिङ, पिलर मिलान, छतको भराईको काम भारतीय कामदारले गर्दै आएका छन् । स्थानीय कामदार दक्ष नहुँदा जिल्लामा निर्माण भइरहेका विकासे आयोजनामा पनि भारतीय कामदार प्रयोग भइरहेका छन् । कतिपय योजनामा कर्णाली प्रदेश तथा सुदूरपश्चिमकै तराईका जिल्लाबाट पनि कामदार आएर काम गरिरहेका छन् । नेपाली कामदार रोजगारीका लागि विदेश जाँदै गर्दा यहाँ भने भारतबाट धेरै जनशक्ति भित्रिरहेको महाकाली–३ का अध्यक्ष पदमसिंह महराले बताए ।
स्थानीय तहका योजनाभन्दा नेपाल सरकारबाट निर्मित विकास निर्माणका आयोजनामा प्रायजसो जिल्लाबाहिरका कामदारले मजदुरी गरिरहेका छन् । विगत ५ वर्षदेखि निर्माणाधीन ठूलो आयोजना महाकाली तटबन्धमा स्थानीय कामदारले मजदुरीमा इच्छा नदेखाएपछि जिल्ला बाहिरबाट कामदार खोजेर ल्याइएको निर्माण व्यवसायी दानसिंह तिंकरीले बताए । उनका अनुसार आयोजनास्थल आसपासका त परै जाओस्, जिल्लाका कुनै पनि ठाउँका मानिसले मजदुरी गर्न मानेनन् । स्थानीयस्तरमा मजदुरी गर्न लाज मान्ने प्रवृत्तिले अन्य जिल्ला वा सीमापारि भारतबाट कामदार खोजेर जिल्लामा ठूला विकास निर्माणका आयोजना निर्माण भइरहेको उनको भनाइ छ ।
स्थानीयले काम गर्न इच्छा नदेखाएको र न्यून संख्यामा आएका स्थानीयसंँग सम्बन्धित कामबारे ज्ञान र सीप नहुँदा समस्या भएको छ । सदरमुकाम खलंगाबाट टिंकर नाकासम्म जोड्ने सडकमा विगतदेखि नै भारत र नेपालका तराई जिल्लाबाट आएका कामदारले मजदुरी गरिरहेको निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्ष महेशसिंह धामीले बताए । स्थानीय कामदारले मन लगाएर काम नगर्ने हुँदा निर्माण कार्यमा प्रभाव पर्दा बाहिरबाट कामदार ल्याउनुपर्ने स्थिति रहेको उनको बुझाइ छ । सडक, जलविद्युत्, सरकारी भवन, व्यक्तिगत घर, पुललगायत निर्माणमा अझै पनि कामदार अभावको समस्या झेलिरहेको निर्माण व्यवसायीहरू बताउँछन् ।