कैलाली। कैलालीका अर्जुन दासको हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म स्थानीयले शव उठाउन अस्वीकार गरेका छन्।
कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको हत्यामा संलग्नलाई पक्राउ गरेर यथाशीघ्र सार्वजनिक गर्नुपर्ने माग गर्दै घटनास्थल अमरावती सामुदायिक वनमा भेला भएका स्थानीयले शव उठाउन अस्वीकार गरेका हुन्।
प्रहरीले घटनाको अनुसन्धान भइरहेकाले परीक्षणका लागि अस्पतालसम्म लैजान दिन आग्रह गरेपनि स्थानीयहरुले शव उठाउन अस्वीकार गरेका छन्। दासको हत्यामा संलग्नहरुको पहिचान भइसकेको तर प्रहरीले पक्राउ गर्न आनाकानी गरेको आरोप उनीहरुले लगाए । हत्यामा संलग्नलई पक्राउ गरेपछि मात्र शव उठाउन दिने अडान राखेका छन्।
स्थानीयले अवरोध सिर्जना गर्दा मृतकको शव घटनास्थलबाट उठाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)वेदप्रकाश जोशीले जानकारी दिए। शुक्रबार साँझ घरबाट निस्किएका दास शनिबार बिहान टाउको छेदन गरेर रुखमा बाँधेको अवस्थामा भेटिएका थिए । घटनाको जिम्मेवारी लिएको टेलिफोन संवाद सार्वजनिक भइसकेको भन्दै स्थानीय वासिन्दा र आफन्तले त्यसै अडियो संवादको आधारमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।