कञ्चनपुर । कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कञ्चनपुर जिल्लामा रहेको मझगाउँ विमानस्थल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको हो।
कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीसँग आज भएको छलफलमा पर्यटन मन्त्री प्रेमबहादुर आलेले विमानस्थल निर्माणका लागि ४७ करोड बजेट छुट्टाएको बताएका हुन्। संघका अध्यक्ष जङ्गबहादुर मल्ल नेतृत्वको टोलीले विमानस्थल निर्माण प्रक्रियाबारे मन्त्री आलेको धारणा बुझेको थियो।
उक्त टोलीमा पूर्व मन्त्री रमेश लेखक, कांग्रेस कञ्चनपुरका पूर्व सभापति हरिप्रसाद बोहोरा लगायतका नेताहरूको सहभागिता रहेको अध्यक्ष मल्लले जानकारी गराभएका हुन्। विमानस्थल निर्माणका लागि कान्छाराम–केएस–उमा एन्ड कम्पनी जेभील निर्माणको ठेक्का पाएको छ। गत वर्ष फागुनमा विमानस्थल निर्माणका लागि ठेक्का स्वीकृत भए पनि हालसम्म सम्झौता हुन भने सकेको थिएन। मन्त्री आलेले विमानस्थल निमार्णका लागि बजेट विनियोजन भएको बताउँदै अब चाँडै सम्झौता गरी निर्माण कार्य अगाडि बढाउने बताउनुभएको संघका अध्यक्ष मल्ले जानकारी दिए।
विमानस्थलको रनवे र पार्किङ एरिया लगायतको निर्माणका लागि ठेक्का भएको हो । विमानस्थल निर्माणमा लागि तीन वर्ष लाग्नेछ । विमानस्थलको १५।२५ मिटर लम्बाइ र ३० मिटर चौडाइको रनवे निर्माण गरिनेछ । ६२ बिघा क्षेत्रफल रहेको विमानस्थलको दक्षिणतर्फ रहेको रत्न बाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाको ब्यारेक अन्यत्र सारेर यसको लम्बाइ १६ सय मिटर पुग्ने मन्त्रालयले जनाएको छ । २०६५ सालमा मझगाउँ विमानस्थल बन्द भएको थियो । विमानस्थल बन्द हुनुअघि यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीको गोकुलेश्वर, अछाम, बाजुरालगायत स्थानमा उडान हुने गर्दथ्यो । उक्त समयमा सातामा एक पटक काठमाडौँ पनि उडान हुने गरेको स्थानीय बताउँछन् । सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै हवाई सेवा बन्द गरिएको थियो ।


