धनगढी। कैलालीको अत्तरियामा शुक्रबारदेखि सुदूरपश्चिम राजधानी कप २०७८ सुरु भएको छ । पीएफए स्पोट्स क्लबको आयोजनामा गोदावरी नगरपालिकाको वडा नम्बर ८ शिवशक्ति खेल मैदानमा राजधानी कपको तेस्रो संस्करण सुरु भएको छ ।
प्रतियोगिताको सुदूरपश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मुख्य मन्त्री भट्टले सुदूरपश्चिमको खेलकुदको विकासका लागि साझा धारणा बनाउन आवश्यक रहेको बताएका छन । कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा सुदूरपश्चिम राजधानी कप महिला तथा पुरुष प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सो कुरा बताएका हुन । उनले खेलकुदको विकासका लागि प्रदेशमा स्थापना भएको प्रदेश खेलकुद परिसद् मार्फत साझा धारणा बनाएर काम गर्न आवश्यक रहेको बताए ।‘प्रदेश सरकार यस क्षेत्रका युवाहरुको चाहना बमोजिम काम गरिरहेको छ’ उनले भने ‘हामीले चाहे जती गर्न नसकेको भएपनि हामीले अहिले खेलकुदलाई सरकारले महत्त दिएर काम गरिरहेको छ ।’उनले यस क्षेत्रको खेलकुदको विकास गर्नका लागि प्रदेश खेलकुद परिसद स्थापना गरिएको बताए।
उनले प्रत्येक स्थानिय तहमा पनि खेलकुद परिसद् बिस्तार गरिन आवश्यक रहेको बताए । ‘खेलमा सुदूरपश्चिमका युवाहरुको अहम भूमिका खेलिरहनु भएको छ’ उनले भने ‘यसलाई मध्यनजर गर्दै सुदूरपश्चिम सरकार पनि तालिम लगायत खेलकुदका कार्यक्रम संचालनका लागि लागिपरेको छ ।’ उनले एउटा निर्वाचन क्षेत्रमा प्रदेश सरकारले एक खेल मैदान बनाउने गरि काम गरिरहेको बताए । राजधानी कपअन्तर्गत महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरुषतर्फ विजेता हुने टिमलाई ५ लाख र उपविजेताले २ लाख ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने महिलातर्फका विजेता टिमले १ लाख ५० हजार र उपविजेता हुने टिमले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । यस्तै दुवैतर्फ विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि नगद र ट्रफी प्रदान गरिनेछ । कुल जम्मा ४७ लाख ६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा अत्तरिया, धनगढी, कञ्चनपुर, बुटबललगायतका ठाउँबाट गरी पुरुषतर्फ आठ टिम र महिलातर्फ ६ टिमले सहभागिता जनाउने भएका छन् ।प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरूका लागि कुनै उमेर समूह र क्षेत्र तोकिएको छैन ।


