धनगढी। धनगढी विमानस्थललाई क्षेत्रीय हबका रूपमा विस्तार गर्ने तयारी थालिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको विषेश पहलमा धनगढी विमानस्थललाई क्षेत्रीय हबका रूपमा विस्तार गर्ने तयारी थालिएको जनाइएको छ।
पर्यटन मन्त्रीको रुपमा कार्यभार सम्हालेकै दिन मन्त्री आलेले सो विमानस्थल स्तरोन्नतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक रहेको बताउँदै त्यसका लागि आवश्यक तयारी थाल्न नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई निर्देशन दिएका थिए। सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सो विमानस्थलको ०७६ सालमा पनि स्तरोन्नति गरिएको थियो । तर, रनवे सानो भएको र टर्मिनल भवनसमेत पुरानो भएको भन्दै स्तरोन्नति गर्न प्राधिकरणले तयारी थालेको छ ।
पर्यटन मन्त्रीको निर्देशनपछि प्राधिकरणअन्तर्गत सिभिल इन्जिनियर विभागका प्रतिधिनिधिले सो विमानस्थलको अध्ययन–अवलोकन गरी प्रारम्भिक डिजाइनसमेत गरिसकेका छन्। अध्ययनअनुसार पहिलो चरणमा ६० करोड रुपैयाँ लगानी गर्ने तयारी भइरहेको छ। तर, बजेट पास हुन बाँकी रहेकोले के–कति रकम खर्च गर्ने भन्ने विषयको टुंगो लगाउन नसकिएको एक अधिकारीले जानकारी दिएका छन्। प्राधिकरणले सो विमानस्थलमा हाल रहेको १८०० मिटर रनवेलाई बढाएर २५०० मिटर बनाउने, ट्याक्सी–वे विस्तार गर्ने, पार्किङका साथै टर्मिनल भवन पनि नयाँ बनाउने योजना अघि सारेको छ ।
तर, ती सबै प्रारम्भिक चरणमै रहेको र बजेट पास भएपछि मात्र फाइनल डिजाइन तयार हुने भएकाले अहिले नै सार्वजनिक नगरिएको ती अधिकारीको भनाइ छ। आन्तरिक विमानस्थलमध्येको सबैभन्दा लामो गन्तव्य रहेको सो विमानस्थलको स्तरोन्नतिपछि सहजै रुपमा हाल भएका ठूला जहाज अवतरण गर्न सक्नेछन् । सुरुमा विमानस्थलको डिजाइन गर्दा साना जहाज (१८ सिट क्षमता) लाई आंकलन गरी बनाउने गरिएकाले पनि अधिकांश विमानस्थलको स्तरोन्नति गर्नुपर्ने अवस्था आएको हो । अहिले भएका जहाजलाई उपयुक्त हुने खालका विमानस्थल नभए पनि एयरलाइन्सले जबर्जस्ती उडान भर्दै आएका छन् ।
२३० बिघा जग्गा थप-स्तरोन्नतिका लागि विमानस्थललाई २३० बिघा जग्गा थप आवश्यक पर्छ। सो जग्गा प्राधिकरणसँग नभएकाले अधिग्रहण गर्नुपर्छ, जसका लागि सम्भावित खर्चको विवरण पनि निकाल्न थालिएको छ। प्राधिकरणसँग पर्याप्त मात्रामा रकमसमेत नहुँदा सरकारले सहयोग गर्नुपर्छ । त्यसका लागि पर्यटनमन्त्रीमार्फत अर्थमन्त्रालयसँग समेत समन्वय भइरहेको प्राधिकरणले जनाएको छ।
यस्तै उता कञ्चनपुर उद्योग वाणिज्य संघले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमवहादुर आलेलाई मझगाउँ एयरपोर्ट निर्माणको कार्य यथासिघ्र संचालन गर्नेलगायतका माग राखेर ज्ञापनपत्र बुझाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य माधवप्रशाद भट्ट, संघका निवर्तमान अध्यक्ष सुरेश रावल, वरिष्ठ उपाध्यक्ष पिताम्वर जोशी र कार्यकारी अधिकृत हेमराज भट्टलगायतको टोलीले ज्ञापनपत्र बुझाएको हो । मन्त्री आलेले एयरपोर्टको निर्माण कार्य तुरुन्तै गर्ने र लिंगेश्वर तथा झिलमिला क्षेत्रको प्रवद्र्धनका लागि वजेट विनियोजन गर्न लगाउने जानकारी दिए् । यी लगायत यस क्षेत्रका अन्य माग सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आग्रह गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेले जानकारी दिएका छन् ।