काठमाडौं। नेपाली काँग्रेसका पाँच ‘क्लस्टर’का सहमहामन्त्रीको मत गणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार विहान ११ बजेपछि मत गणना सुरु भएको हो । खस–आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रको तर्फका सहमहामन्त्रीको मत गणना भइरहेको काँग्रेस निर्वाचन समिति सदस्य तेजबहादुर रावलले जानकारी दिए ।
पाँच सहमहामन्त्रीको मतगणना पाँच ठाउँमा भइरहेको उनको भनाइ छ। मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण यादव प्रतिस्पर्धामा छन्। खसआर्य समूहको सहमहामन्त्रीमा देउवा समूहबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् भने थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र कोइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन्।
मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र कोइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्। पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, कोइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार छन् । काँग्रेसमा क्लस्टर अनुसार ८ सहमहामन्त्री निर्वाचित हुँदैछन् । महिला, दलित र आदिवासी जनजातितर्फका सहमहामन्त्रीको मतगण्ना बिहीबार सम्पन्न भएको थियो ।