दार्चुला। दार्चुलाको महाकाली नगरपालिकाले अवैधानिक ट्युसन सेन्टर बन्द गर्ने भएको छ। महाकाली नगरपालिका क्षेत्रभित्र कानुनी रुपमा दर्ता नभई अवैधानिक रुपमा ट्युशन सेन्टर सञ्चालन भइरहेको र विद्यालयहरुमा समेत विद्यार्थीहरुबाट अतिरिक्त शुल्क लिई अतिरिक्त कक्षाहरु सञ्चालन भइरहेको भनि लिखित गुनासो आएकाले अवैधानिक ट्युसन सेन्टर बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।
नगरपालिकाले मंसिर २४ गते सूचना जारी गर्दै विद्यालयहरुमा निःशुल्क अतिरिक्त क्रियाकलाप गर्न र अवैधानिक ट्युशन सेन्टरहरु बन्द गर्न सूचित गराएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरसिंह बडालले जानकारी दिए । महाकाली नगरपालिकामा सामुदायिक विद्यालयहरुले नै विद्यार्थीहरुबाट विभिन्न शीर्षकमा शुल्क उठाउने,विद्यालयहरुले विद्यार्थीहरुबाट प्रत्येक वर्ष भर्ना शुल्क, अभिभावक सहयोग शुल्कका नाममा मासिक शुल्क उठाइरहने, परीक्षा शुल्क लगायतका विभिन्न शीर्षकमा शुल्क लिदै आएका छन् ।
साथै सरकारी अनुदानमा सञ्चालित सामुदायिक विद्यालयहरुमै विद्यार्थी भर्नाका लागि शुल्क तिर्नुपर्ने आरोप लाग्ने गरेको छ । विद्यार्थीहरुलाई निःशुल्क भर्ना गर्ने सरकारका नारा लागिरहेकै बेला विद्यालयहरुले भर्ना शुल्क उठाउने गरेका छन् । त्यसपश्चात् परीक्षा शुल्क लगायतका शीर्षकमा शुल्क लग्ने गरेको अभिभावकहरुको भनाई छ । सामुदायिक विद्यालयमा यस्तो अवस्थाका बारेमा सबै सरोकारवालाहरु जानकार भएपनि नियमनकारी निकाय नै मौन बस्दा कसैले केही गर्न नसकेको उनीहरुको गुनासो छ । त्यस्तै सामुदायिक विद्यालयहरुमा नेपाली माध्यममा अध्ययन गर्ने र अंग्रेजी माध्यमबाट पढ्ने विद्यार्थीहरुले फरक फरक शुल्क तिर्दै आएको विद्यार्थीहरुको भनाई छ।


