काठमाडौँ। कांग्रेसको १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित हुने पक्का भएको छ । अहिलेसम्म ४१९० मत गणनामा गगन थापाले सबैभन्दा बढी २७०९ मत प्राप्त गरेका छन् ।
त्यस्तै दोस्रो स्थानमा रहेका शर्माले १७३६ मत ल्याएका छन् । उनीपछि रहेका प्रकाशशरण महतले १३८६ मत प्राप्त गरेका छन् । गन्न बाँकी मत र अन्तर हेर्दा शर्मा पनि दोस्रो स्थानमा रहँदै महामन्त्रीमा निर्वाचित हुने देखिएको छ । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ । शर्माले कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो जित सिंगै कांग्रेस रूपान्तरण अभियानको प्रारम्भ भएको बताए।
उनले भने, यो व्यक्तिको विजय होइन, गुटको विजय होइन। यो सिंगै नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने प्रारम्भ हो । त्यस्तै उनले बाँकी कुरा सुन्दरीजलबाट सुनाउने बताए। उनले अगाडि भने, मैले बोल्नुपर्ने धेरै छ। सुन्दरीजलस्थि बीपी संग्रहालयबाटै विस्तृत कुरा गर्नेछु । उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा पनि सुन्दरीजलबाटै गरेका थिए । सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।