धनगढी।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद प्रक्रियामा समस्या भएको भन्दै धान खरिद कार्य रोकेको छ।
बेमौसमी बर्षातसंगै आएको बाढीका कारण धानमा अत्याधिक चिस्यान बढी भएको र मापदण्ड अनुसार नभएको भन्दै यस वर्ष कम्पनीले कैलाली र कञ्चनपुरमा धान खरिद गर्ने कार्य रोकेको हो। मंसिर २२ गतेदेखि धान खरिद सुरु गरेको धनगढीस्थित कम्पनीले मापदण्डअनुसारको धान नपाएको जनाइएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख एन्जिला बस्नेतले धानमा अत्याधिक चिस्यान भएका कारण खरिद प्रक्रियामा समस्या भएको जानकारी दिइन्। बाढीमा भिजेका कारण धानमा अत्याधिक चिस्यान बढी भएकोले धान खरिद गर्न समस्या र मापदण्ड अनुसारको धान नआउँदा अहिले खरिद गर्ने प्रक्रिया नै रोकेको प्रमुख बस्नेतले बताइन् ।‘खाद्य व्यापार कम्पनी लिमिटेडले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको धान खरिद गर्दैन,’यस बर्ष किसानले ल्याउने सवै धानमा त्यो भन्दा बढी चिस्यान भेटिकाले खरिद केन्द्रमा आएका किसानलाई धानसहित फर्काइरहेको उनले बताईन्।
‘किसानले पानीमा नभिजेको धान हो भन्दै संस्थानको खरिद केन्द्रसम्म धान ल्याउने गरेका छन्,’, ‘तर जाँच गर्दा चिस्यान बढी देखिरहेको उनले भनिन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीका लागि ३५ हजार र कञ्चनपुरका लागि ६ सय मेट्रिक टन धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, अहिलेसम्म मुस्किलले १० क्विन्टल धान मात्रै खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ। कैलालीका ६ र कञ्चनपुरका १ स्थानबाट धान खरिद गर्न केन्द्रले स्वीकृति दिएको थियो । मंसिर २२ गते कैलालीको मोहनपुर र टीकापुर तथा कञ्चनपुरको महेन्द्रनगरमा धान खरिद सुरु गरिएकोमा मापदण्ड अनुसारको धान किसानले नल्याएपछि धान खरिद नै बन्द गरिएको कम्पनीले जनाएको छ। गत वर्ष कैलालीमा ६५ हजार ५ सय र कञ्चनपुरमा ७ हजार गरी ७३ हजार पाँच सय मेट्रिक टन धान खरिद गरिएको थियो । तर यस वर्ष भने जम्मा ४१ हजार मेट्रिकटन धान मात्रै खरिद गर्ने गरी कोटा निर्धारण गरिएकोमा खाद्य संस्थानलाई कोटाअनुसार धान खरिद गर्न समस्या छ ।


