नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ। उपसभापतिका ७ उम्मेदवारमध्ये खड्काले २ हजार १२१ र गुरुङले १ हजार ९०८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो।
उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदारले १ हजार ९०६ मत प्राप्त गर्नुभयो। बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका निर्वाचन समितिले घोषणा गरेको छ। देउवा पक्षका उम्मेदवार गच्छदार दुई मतान्तरले पराजित हुनुभयो।
यस्तै उपसभापतिका अर्का उम्मेदवार चन्द्र भण्डारीले १ हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन्। सोमबार भएको मतदानमा उपसभापति पदका लागि ४ हजार ६ सय ८९ मत खसेको थियो। सभापतिमा शेरबहादुर देउवा निर्वाचित भैसक्नुभएको छ । महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ ।


