धनगढी। सुदूर पश्चिमाञ्चल एकेडेमी ‘एसपिए’ को क्याम्पस प्रमुखमा योगराज उपाध्याय नियुक्त भएका छन्। लामो समय देखी बिभिन्न क्याम्पसहरूको सफल नेतृत्व गरी सक्नुभएका उपाध्यायले आज एसपिए क्याम्पस प्रमुखका रूपमा पदभार ग्रहण गरेका हुन् ।
सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्थाको रूपमा रहेको (एसपिए) को क्याम्पस प्रमुखमा उपाध्यायलाई आज एक समारोहका बिच एसपिएका प्रबन्ध निर्देशक सुवास शाहीले पदभार ग्रहण गराएका हुन्। पदभार ग्रहणका गर्दै नवनियुक्त क्याम्पस प्रमुख उपाध्यायले क्याम्पसको सर्वागृण विकाससँगै यस क्षेत्रको शैक्षिक विकास तथा गुणस्तर वृद्धिकालागी आफ्नो योगदान रहने जानकारी दिए ।
विद्यार्थीहरूलाई रचनात्मक सिकाइमा बढी जोड दिई विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकास बनाउन र अनुशासित तथा नैतिकवान् बनाउनु आफ्नो पहिलो प्राथमिकता रहने प्रतिबद्धता व्यक्त गरेका छन्। क्याम्पसले अभिभावकको चाहाना बमोजिम र विद्यार्थीहरूको आवश्यकता आधारमा शैक्षिक गतिविधि अधि बढाउने कुरामा विश्वस्त रहन अभिभावक वर्गमा आग्रह गरेका छन्। उपाध्यायले विगत ३० वर्ष देखी शिक्षा क्षेत्रमा योगदान दिँदै आएका छन् । काठमाडौँमा रहेका नाम चलेका क्याम्पसहरूको शैक्षिक र व्यवस्थापकीय नेतृत्व गरेका छन्।
उपाध्यायसँग काठमाण्डौमा रहेका गाल्डेन गेट, द टाइम्स कलेज, नोबेल कलेज लगायतका उत्कृष्ट शैक्षिक संस्थाहरूमा कार्य गरेको अनुभव छ। पदभार ग्रहण समारोहमा एकेडेमीका प्रबन्ध निर्देशक शाहीले लामो अनुभव प्राप्त नवनियुक्त क्याम्पस प्रमुखको आगमनले एसपिएको शैक्षिक गुणस्तरमा अझै सुधार हुने विश्वास व्यक्त गरेका छन्। प्रदेशकै अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित एकेडेमीले सधैँ व्यवहारिक र अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तरका लागी योगदान गर्ने प्रबन्ध निर्देशक शाहीको भनाई छ। आगामी दिनमा देशकै उत्कृष्ट क्याम्पसका रूपमा परिचय बनाउने गरी कार्य गर्नहुनेमा बिश्वास ब्यक्त गरे । हाल एसपिएमा विभिन्न तह तथा संकायमा ३ हजार भन्दा धेरै विद्यार्थीहरू अध्ययन गरिरहेका छन्।
आज भन्दा २३ वर्ष पहिला सुरु भएको एसपिएमा हाल शिक्षा, मानविकी, विज्ञान तथा व्यवस्थापन संकायमा विभिन्न कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । पछिल्लो समय युग सुहाउँदो र माग भई आएका विभिन्न कार्यक्रम हरू एकेडेमीले सञ्चालन गरिरहेको छ । विएचएम, बिआइएम लगायतका कार्यक्रमहरू पनि एकेडेमीका आकर्षणका कार्यक्रमहरू हुन्। यस्तै क्याम्पसको नयाँ कार्यक्रमका रूपमा यस शैक्षिक सत्र देखी विएसडब्लु पनि सञ्चालनमा आएको क्याम्पसले जनाएको छ।


