कञ्चनपुर। कञ्चनपुर जिल्ला कारागारबाट एकैदिन २८ जना कैदीको सरुवा गरिएको छ । कारागार भित्र कैदीबिच झैझगडा हुँदा एकैदिन २८ जना कैदी अन्यत्र सारिएका छन्। मंगलवार एकैसाथ ठूलो संख्यामा कैदी–बन्दीहरु अन्यत्र सारिएपछि अनेक शंका–उपशंका उब्जिएका छन्। कारागार प्रशासनले भने यसलाई नियमित र स्वभाविक सरुवा भनेको छ।
कञ्चनपुरबाट १० जनालाई कैलाली, १० जनालाई डडेल्धुरा र ८ जनालाई दार्चुला कारागारमा पठाइएको हो । कारागार प्रमुख माया थापाले यहाँको जेलमा ठाउँ अभाव भएपछि अन्यत्र स्थानान्तरण गरिएको बताइन। ‘९५ जना बस्न मिल्ने कारागारमा अहिले ४ सय ५३ जना बसिरहनु भएको थियो,’ उनले भनिन्, ‘प्लाष्टिकको पालमा ओत लाग्दा जाडोले सताउन थाल्यो । त्यसैले अन्य जिल्लामा सरुवा गरिएको हो ।’केहीले कारागार भित्र आपसमा झैझगडा भएकाले सारिएको बताए ।
एकैपटक ठूलो संख्यामा कैदी–बन्दी सारिएपछि स्थानीयले अनेक अट्कलबाजि लगाएका थिए। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेयले भने त्यस्तो कुनै कारण नभएको र ठाउँ अभावले सजाय तोकिएका कैदी–बन्दीहरुलाई अन्यत्र पठाएको बताए । ‘कारागार साँघुरो छ । कैदीबन्दी धेरै छन्, बिजोग भएपछि पठाएका हौं,’ उनले भने । अन्य जिल्लामा रहेका कारागारको अवस्था पनि दयनिय छ ।
कैलाली, डडेल्धुरा र दार्चुला कारागारमा पनि क्षमता भन्दा बढी कैदीबन्दीहरु बसिरहेका छन् । दार्चुलामा मंगलवार राती करिब २ बजे तिर ८ जना कैदीबन्दी पुगेका थिए । तर यहाँ पनि उनीहरुलाई बस्नका लागि कसरी व्यवस्थापन मिलाउने भन्ने चिन्तामा थिए, कारागारका कर्मचारी । ‘क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी रहेकाले स्थानान्तरण भइ आएका कैदीबन्दीहरुलाई कहाँ राख्ने भन्ने समस्या छ,’ एक कर्मचारीले भने । कञ्चनपुर कारागारले लागूऔषध, मानव बेचबिखन र सवारी ज्यान मुद्धामा सजाय भोगिरहेका कैदीबन्दीहरुलाई स्थानान्तरण गरेको जनाएको छ ।


