धनगढी। धनगढीमा रहेको वायुयान सङ्ग्रहालय (एयरक्राफ्ट म्युजियम) धनगढी बाहिर लगिएको छ। क्याप्टेन बेद उप्रेतीले लिजमा लिएको जमिनको सम्झौता अवधि सकिएकाले म्यूजियम सारिएको हो।
धनगढी ५ हसनपुरमा ९ वर्षअघि स्थापना गरेको एयरक्राफ्ट म्यूजियम जग्गाको सम्झौता अवधि सकिएको र एयरक्राफ्ट म्युजियम यहाँ राख्न जग्गा नपाएपछि म्युजियमलाई नेपालगञ्ज लगिएको क्याप्टेन बेद उप्रेतीले जानकारी दिए । क्याप्टेन तथा एरियल फोटोग्राफर उप्रेतीको अवधारण र व्यक्तिगत पहलमा बनाइएको सो संग्रहालयमा उप्रेतीले खिचेका देश–विदेशका उत्कृष्ट तस्बिरहरु समेत राखिएका थिए।
एयरक्राफ्ट म्यूजियम विदेशमा खुलेका जहाजसँग सम्बन्धित संग्रहालयहरु भन्दा पृथक थियो । नेपाली आकाशमा उडेर बन्द भएको कस्मिक एयरको फोकर–१०० जहाजलाई संग्रहालयको रूप दिएका थिए क्याप्टेन बेद उप्रेतीले । एयरक्राफ्टलाई नै संग्रहालय ‘घर’ बनाइएको थियो। त्यहाँ राइट ब्रदर्सका पालादेखि हालसम्मका दुई सय वटा मिनियचर एयरक्राफ्ट म्यूजिमभित्र राखिएका थिए।म्यूजियमले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सफल भएको थियो। तर अहिले म्यूजियमनै अन्यन्त्र गएपछि यहाँको पर्यटन विकासमा असर पर्ने पर्यटन व्यवसायीहरू बताउँदै आएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उप्रेतीले करिव ७० लाख रुपैयाँमा सो फोकर जहाज खरिद गरेका थिए । धनगढी र्पुयाइसकेपछि झन्डै छ महिना लगाएर सङ्ग्रहालय तयार पारिएको थियो ।



