धनगढी। नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन सकिएको छ। चार दिनसम्म चलेको सम्मेलनले पदाधिकारीबिना २२३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो । १३ सय बढी प्रतिनिधि सहभागी प्रदेश सम्मेलनले अहिले पदाधिकारीबिना प्रदेश कमिटी घोषणा गरेको माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज खगराज भट्टले जानकारी दिए।
उनले पहिलो बैठकबाट पदाधिकारीको चयन हुने बताए । तर पदाधिकारीको चयन गर्न अझै एक दुई दिन लाग्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रमेश धामीले पदाधिकारीको चयन गर्न अझै एक दुई दिन लाग्ने जानकारी दिए । उनले भने पहिला बैठक बस्छ। त्यसपछि प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय चयन गर्नुपर्नेछ । प्रदेश अध्यक्षलगायत पदाधिकारीमा सहमति नभएपछि दुई दिनका लागि आयोजना गरिएको सम्मेलन चौथो दिनसम्म लम्बिएको थियो । यद्यपि चार दिनसम्म पनि पदाधिकारीबिना प्रदेश कमिटी घोषणा गरिएको छ।
प्रदेश अध्यक्षका लागि ६ जनाले दाबी गर्दै आएका छन् । केन्द्रीय सदस्य शरदसिंह भण्डारी, प्रदेशका सहइन्चार्ज एवं केन्द्रीय सदस्यद्वय वीरमान चौधरी, नेपबहादुर चौधरी, केन्द्रीय सदस्य एवं बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर, माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका राष्ट्रिय सभा सदस्य हरि चौधरी, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी र प्रदेश कमिटी सदस्य हरि ज्ञवालीले अध्यक्षमा दाबी गर्दै आएका छन्। अध्यक्षमा हरि चौधरीको सम्भावना बलियो रहेको बताइएको छ । उनका अनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष गरी नौ जना पदाधिकारी पहिलो बैठकबाट चयन गरिनेछ । सम्मेलनले राष्ट्रिय सम्मेलन प्रतिनिधि पनि प्रदेश सम्मेलन मार्फत नै चयन गरेको छ ।