धनगढी। माओवादीको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन प्रदेश सदस्यहरू घोषणा गरेर सकिएको छ । शनिवार र आइतबारको लागि आयोजना गरिएको सम्मेलन नेतृत्वमा सहमति हुन नसकेपछि थप दुई दिन लम्बिएको थियो।
सबै जिल्लाका तर्फबाट प्रदेश सदस्यहरूमा सहमति भएपछि जुटाएर सदस्यहरू घोषणा गरिएको हो । तर, अझै पनि केही स्थानीय तहमा सहमति हुन नसकेको ठाउँमा खाली राखिएको माओवादीका केन्द्रीय सदस्य वीरमान चौधरीले बताए ।
उनका अनुसार केही नाम खालि राखेर २२३ जनाको प्रदेश कमिटी घोषणा गरिएको जानकारी दिए । जसमा कैलालीबाट ६०, कञ्चनपुरबाट ३३, अछामबाट २३, डोटीबाट २०, बैतडीबाट १९, बझाङबाट २०, डडेलधुराबाट १६, दार्चुलाबाट १७ र बाजुराबाट १५ जना रहेका छन्। धनगढीमा शनिबारबाट सुरु भएको प्रदेश सम्मेलनले ८२ जनालाई राष्ट्रिय सम्मेलन प्रतिनिधि पनि छनोट गरेको छ।
सुदूरपश्चिम प्रदेश सम्मेलन मार्फत एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारी सहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने तयारी गरिएको थियो । तर, प्रदेश सदस्यको कोटामै विवाद बढेपछि पदाधिकारीको टुङ्गो नलगाई सम्मेलन सम्पन्न गरिएको हो। प्रदेश सदस्यको विषयमा प्रतिनिधीहरुले विरोध जनाएका छन् ।
मापदण्ड विना निकटलाई सदस्यमा बनाइएको र समेटिनु पर्ने व्यक्तिहरू पछि छुटेको भन्दै उनीहरूले निर्वाचन समितिलाई निवेदन पनि पेस गरेका छन् । विवाद बढेको भन्दै निर्वाचन समितिले कञ्चनपुरको बेदकोट नगरपालिकाबाट समेटिनु पर्ने सदस्यहरूको नाम सम्मेलनमा घोषणा गरिएन। माओवादी केन्द्रका केन्द्रीय सदस्य नेप चौधरीले भने कञ्चनपुरमा केही समस्या रहेको भन्दै त्यहीबाट समाधान आउने बताए । पदाधिकारीहरू प्रदेश कमिटिको पहिलो बैठकबाटै टुङ्गो लगाइने चौधरीले जानकारी दिए । प्रदेश सदस्यहरूलाई मङ्गलवार राती नै सपथ ग्रहण गराइएको थियो ।