काठमाडौं। नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान राजधानीको राष्ट्रिय सभागृहमा जारी छ। सोमबार भएको मतदानपछिको मतगणनामा सभापतिका कुनै पनि उम्मेदवारले जीतका लागि मत हासिल गर्न नसकेपछि आज फेरि मतदान भएको हो।
दोश्रो चरणमा मतदान सुरू भएको हालसम्म २ हजार ५ सय मत खसेको निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए । मतदानका लागि सभागृहमा ६ वटा बुथको व्यवस्था गरिएको छ। मतदानस्थलमा यतिबेला उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइराला आफ्नो पक्षमा माहौल बनाउन लाइनमा उभिएका मतदातासँग भोट माग्न व्यस्त छन्। दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन्।