धनगढी। कैलालीमा तीन वटा निर्वाचन क्षेत्र जनप्रतिनिधिविहीन भएको छ। कैलालीमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र लामो समयदेखि खाली छ भने एउटा निर्वाचन क्षेत्र सुरुदेखि नै खाली बनेपछि जिल्लाकै विकास निर्माण र नागरिकको आवाज राज्यसत्तासम्म पुर्याउन समस्या भैरहेको छ।
कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ र ४ का सांसद्हरू नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेपछि खाली भएको हो । यस्तै क्षेत्र नम्बर १ मा सांसद् जितेका रेशम चौधरी जेलमा रहेको हुनाले सो क्षेत्र सांसद् भएर पनि खाली सरह छ । सो क्षेत्रका बासिन्दाका लागि जेलमा रहेका व्यक्तिलाई सांसद् जिताएकोमा सजायँ दिएजस्तै प्रतिनिधिमा जनप्रतिनिधिविहीन बनाइएको बताउँछन्।
निर्वाचन क्षेत्र नम्बर ३ मा गौरीशंकर चौधरी र ४ मा लेखराज भट्ट नेकपा माओवादीबाट प्रतिनिधि सदस्य जितेका थिए । नेपाल कम्युनिष्ट पार्टीको एकता भंग हुने बेला उनीहरूले नेकपा एमालेमा खुलेपछि निर्वाचन आयोगले उनीहरूलाई पदमुक्त गरेको थियो । उनीहरू पदमुक्त भएदेखि क्षेत्र नम्बर ३ र ४ पनि खाली छ । कैलालीमा रहेका ५ वटा प्रनितिनिसभा निर्वाचन क्षेत्रमध्ये दुईवटा निर्वाचन क्षेत्रमा मात्रै जनप्रतिनिधि छन् । क्षेत्र नम्बर २ का सांसद् झपट रावल र क्षेत्र नम्बर ५ का सांसद् नारदमुनी राना नेकपा एमालेमा आबद्ध छन् ।
पाँचमध्ये तीन जना सांसद् प्रतिनिधिसभामा नहुँदा जिल्लाकै विकासमा बाधा पुग्नुका साथै जनताको आवाज राज्यसत्तासम्म पुग्न बाधा परेको राजनीतिक दलका नेता कार्यकर्ताको बुझाइ छ। उनीहरूले जनप्रतिनिधि नभएका क्षेत्रका नागरिकले आफ्ना समस्या राख्ने ठाउँसमेत नपाएको बताउँछन् । नेकपा एमालेका जिल्ला सदस्य धर्मराज पाठकले जनप्रतिनिधि नहुँदा राष्ट्रियस्तरमा नागरिकको समस्या पुग्न नसकेको बताए । उनले ती क्षेत्रमा विकासका राष्ट्रिय कार्यक्रमसमेत आउन नसकेको बताए।
नेकपा समाजवादीका प्रदेश सदस्य दिनेशचन्द्र सुवेदीले निर्वाचन आयोगले समयमा उपनिर्वाचन गर्न जरुरी रहेको बताए। खाली रहेका निर्वाचन क्षेत्रका नागरिकका समस्या केन्द्रसम्म पुर्याउन र ती क्षेत्रमा विकास गर्न बाधा पुगेको बताउँदै उनले नागरिकलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोड दिए । नेकपा माओवादी केन्द्र कैलालीमा अध्यक्ष लालबहादुर सोडारीले खाली रहेका निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराउने वा नगराउने विषय सरकारको क्षेत्राधिकारभित्रको कुरा रहेको बताए ।


