काठमाडौं। नेपाली काँग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको चुनाव लड्ने भएका छन्। अर्का उम्मेदवार शेरबहादुर देउवालाई यसअघि सभापतिको दौडबाट बाहिरिएका विमलेन्द्र निधि र प्रकाशमान सिंहले समर्थन गर्ने भएसँगै अब चुनाव लड्ने कि नलड्ने भन्नेमा कोइरालाले आफू निकटसँग छलफल गरेका थिए।
छलफलमा देउवासँग फेरि चुनाव लड्ने निष्कर्ष निकालिएको महामन्त्रीका उम्मेदवार गगन थापाले जानकारी दिए । यस्तै कोइरालाले पनि पत्रकार सम्मेलन गरेर परिणाम जुनसुकै आएपनि आफू स्वीकार्न तयार रहेको पनि बताएका छन्। ‘पार्टीभित्रको बृहत् एकताका लागि अहिले पनि तयार छु।
साथै दोस्रो चरणको मतदानबाट मेरो जित हुनेमा पनि विश्वस्त छु। यो स्वस्थ प्रतिस्पर्धा हो। कसले कसलाई समर्थन गर्छ त्यो महत्त्वपूर्ण होइन, महाधिवेशन प्रतिनिधिको विवेक महत्त्वपूर्ण हो,’ उनले भने। उनले अघि भने, ‘साथीहरुले भरोसा गरेर जुन भोट दिनुभयो, त्यसका लागि कृतज्ञता व्यक्त गर्छु।’साथै दोस्रो चरणको मतदानबाट आफू विजयी हुने विश्वास व्यक्त गरेका कोइरालाले परिणाम स्वीकार गर्ने बताए। दोस्रो चरणको मतदान आजै दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ।