धनगढी। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आजपनि बन्द सत्र चलिरहेको छ । माओवादी केन्द्र प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि आकांक्षीको संख्या धेरै हुँदा र नेतृत्वमै सहमति हुन नसकेपछि प्रदेश सम्मेलन लम्बिएको छ ।
शनिबार र आइतबार गरी दुई दिनका लागि प्रदेश सम्मेलन तोकिएको थियो । तर, सोमबार बेलुकी अबेरसम्म पनि नेतृत्वका लागि सहमति जुट्न नसक्दा बन्दसत्र आज (मंगलबार) पनी सञ्चालन भैरहेको छ । सहमति नभएपछि बन्दसत्र मंगलबार बिहान ८ बजे पुनः बोलाइएको छ । प्रदेश इन्चार्ज खगराज भट्टसहित नेताहरू सोमबार दिनभर सम्मेलनस्थलबाहिर छलफलमा जुटेका थिए । सुदूरपश्चिम प्रदेश अध्यक्षमा सातजना नेताहरूले दाबी गरेका छन् ।
वर्तमान प्रदेश अध्यक्ष शरदसिंह भण्डारी, प्रदेश कमिटी सदस्य एवम् राष्ट्रिय सभा सदस्य हरि चौधरी, केन्द्रीय सदस्य एवं बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर र प्रदेश कमिटी सदस्य हरि ज्ञवाली अध्यक्षका प्रबल दाबेदार देखिएका छन् ।यस्तै प्रदेशका सहइन्चार्ज एवं केन्द्रीय सदस्यद्वय वीरमान चौधरी, नेपबहादुर चौधरी, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी पनि अध्यक्षका आकांक्षी छन् । अधिवेशनले नौजना पदाधिकारीसहित २ सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्नेछ । दुई सय एकजना सम्मेलनबाट र बाँकी सदस्य मनोनीत गरिने माओवादीले जनाएको छ ।