काठमाडौं। नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज भएको मतदानमा कुल ४६७९ मत खसेको छ
। नेपाली कांग्रसका ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको हो । ६४ जना प्रतिनिधि अनुपस्थित रहेका छन् । मतगणना केहीबेरमा सुरु हुने निर्वाचन समितिले जनाएको छ । २४ गतेबाट सुरु भएको महाधिवेशन अन्तरगत सोमबार मध्यान्ह करिब १२ बजेबाट मात्रै मतदान सुरु भएको थियो । अबको केही बेरपछि नै मतगणना सुरु हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए । राति १ बजेदेखि सभापतिको मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ ।
कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा रहेका छन् । नेपाली कांग्रेसको सभापतिमा पहिलो चरणमै जित्न अर्थात ५० प्रतिशत कटाउन ५ जनामध्ये एक उम्मेदवारले २३४० मत प्राप्त गर्नुपर्ने देखिएको छ । कुल ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ जनाले मत दिएका छन् ।खसेको मतको ५० प्रतिशत कटाउन सभापति उम्मेदवारले २३४० मत पाउनुपर्छ। सभापतिका उम्मेदवार शेरवहादुर देउवा,डा।शेखर कोइराला,प्रकाशमान सिंह,विमलेन्द्र निधी र कल्याण गुरुङ कसैले पनि २३४० मत कटाउन नसकेमा दोस्रो चरणमा दुई जनाबीच प्रतिस्पर्धा हुनेछ ।


