धनगढी। नेकपा माओवादी केन्द्रले सहमतिमा सुदूरपश्चिम प्रदेश नेतृत्व चुन्न नसकेपछि प्रदेश सम्मेलन लम्बिएको छ। माओवादी केन्द्रलाई सुदूरपश्चिम प्रदेशको नेतृत्व छनोटमा सकस भएको छ।
जारी प्रदेश सम्मेलनमा प्रदेशको नेतृत्वका लागि नेतृत्व छान्न सकस भएको हो। नेताहरूले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्न दावी गर्दै आएका छन्। शनिबार र आइतबार गरेर दुई दिनका लागि सम्मेलन आयोजना गरिएको भए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन।
प्रदेश अध्यक्ष चयनका लागि सहमतिको प्रयास भइरहेको छ। शनिबारदेखि सुरु भएको पार्टीको सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनबाट नयाँ नेतृत्व छनोट प्रक्रिया अनुसार भएको नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रमेश धामीले बताए । उनले भने ढिलो भएको छैन् । साथै अहिलेसम्म कसैले पनी अध्यक्षमा दावी नगरेको उनले भने । तर एक माओवादी नेताका अनुसार माओवादीको प्रदेश अध्यक्षका लागि सात जनाले दाबी गरेका छन् ।
माओवादीको वर्तमान प्रदेश अध्यक्ष एवं केन्द्रीय सदस्य शरदसिंह भण्डारी, प्रदेशका सहइन्चार्ज एवं केन्द्रीय सदस्यद्वय वीरमान चौधरी, नेपबहादुर चौधरी, केन्द्रीय सदस्य एवं बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवरले अध्यक्षमा दाबी गरेका छन्। यस्तै, माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका राष्ट्रियसभा सदस्य हरि चौधरी ‘उत्सव’, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी र प्रदेश कमिटी सदस्य हरि ज्ञवालीले पनि अध्यक्षमा दावी गरेका माओवादीका नेताले बताए। अहिलेका अध्यक्ष भण्डारी र राष्ट्रियसभा सदस्य चौधरीमध्ये एक जना प्रदेश अध्यक्ष हुने संभावना रहेको ती नेताको दाबी छ । सम्मलेनले नौ जना पदाधिकारीसहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने छ । सुदूरपश्चिममा माओवादीका ८० हजार ४२७ हजार सदस्य रहेका उक्त पार्टीले जनाएको छ ।