धनगढी। नेकपा माओवादी केन्द्रको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन धनगढीमा सुरु भएको छ । नेकपा माओवादी केन्द्रको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्धघाटन गरेका हुन्। सम्मेलन भोलिसम्म चल्ने बताइएको छ।
सात भौगोलिकसहित अन्य प्रदेशको एकैपटक भर्चुअल रुपमा अधिवेशनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पानसमा वत्ति बालेर उद्घाटन गरेका हुन् । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीको रिद्धीसिद्धी प्यालेसमा भैरहेको छ। सुदूरपश्चिम प्रदेशको धनगढीमा, प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ र कर्णालीको सुर्खेतबाट सम्मेलन सुरु भएको हो। अधिवेशनले सवै प्रदेशमा नौ पदाधिकारीसहितको नयाँ प्रदेश कमिटी गठन गर्नेछ। प्रत्येक प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय चयन हुनेछन्।
सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति बन्नेछन् । यस्तै प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ सदस्यीय समिति बन्नेछन् । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् । माओवादी केन्द्रले गत मङ्सिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौमा हुँदैछ ।



