काठमाडौं। नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि सोमबार हुन लागेको निर्वाचनमा ५ जनाको उम्मेदवारी पर्ने देखिएको छ । त्यसमध्ये नेता कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन् भने अन्य उम्मेदवारले पनि निर्वाचन समितिले तोकेको समयभित्र दर्ता गराउनका लागि तयारी गरिरहेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले साझा उम्मेदवार तय गर्न नसकेपछि सभापतिका उम्मेदवारको संख्या पनि बढ्ने देखिएको हो । सभापतिमा यो समाचार तयार पर्दासम्म शेरबहादुर देउवासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र शेखर कोइरालाले उम्मेदवारी दर्ता गराउने बताएका छन् । सिंह र कोइराला पौडेल पक्षका भएपनि सहमति हुन नसकेपछि दुबै जनाले उम्मेदवारी दर्ता गर्न लागेका हुन्।
प्रकाशमान सिंह उम्मेदवारी दर्ताअघि आफ्नो सम्पर्क कार्यालयमा निकटस्थहरुसँग छलफलमा व्यस्त छन् भने उनको टीमबाट सुजाता कोइराला उम्मेदवार बन्ने निश्चित भएको छ । अन्य उम्मेदवारबारे छलफल भइरहेको बताइएको छ ।
यता शेखरले बालुवाटारस्थित आफ्नो कार्यालयमा निकटस्थसँग छलफल गरिराखेका छन् भने देउवाले पनि प्यानल तयार गर्नका लागि छलफललाई जारी राखेका छन्। देउवालाई कृष्ण प्रसाद सिटौला समूहले पनि समर्थन गर्ने बताइएको छ। सभापतिका अर्का दाबेदार विमलेन्द्र निधिले पनि आज दिउँसो उम्मेदवारी दर्ता गराउने बताए । उनले उम्मेदवारी दर्ताअघि आफ्नो टीमबाट चुनाव लड्ने उम्मेदवारबारे छलफल गर्दैछन् । आफ्नो टीमबाट सहमति हुन नसकेपछि रामचन्द्र पौडेलले भने अब उम्मेदवार नबन्ने बताएका छन् । यस्तै महामन्त्री शशांक कोइरालापनि उम्मेदवारको रेशबाट ब्याक भएका छन्। काँग्रेसको चुनावका लागि आज साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।


