धनगढी। नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो।
अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा पनी प्रथम सम्मेलनको तयारी पुरा भएको जनाइएको छ। शुक्रबार धनगढीमा नेकपा माओवादी प्रदेश कमिटीले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो।
मंसिर आज र भोली धनगढीमा हुने सम्मेलनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम कमिटी इन्चार्ज खगराज भट्टले जानकारी दिएका छन्। उनले सम्मेलनका लागि मञ्च व्यवस्थापन,ब्यानर, स्टिकर, पम्प्लेट होटल व्यवस्थापनजस्ता सबै आवश्यक तयारी पुरा भएको बताए । उनले बन्द सत्रबाट २२३ जनाको कमिटी निर्माण गर्ने र पछि १० प्रतिशत थप गरेर कमिटीलाई पूर्णता दिइने छ।
महिला ३५ प्रतिशत, युवा २० प्रतिशत दलित १५ प्रतिशत सहितको समावेशी कमिटी निर्माण गरेर सम्मेलन सम्पन्न हुने उनको भनाई छ। माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ। प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ। विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने बताइएको छ ।प्रवास समितिको सम्मेलन शनिबार नहुने र छिट्टै सम्पन्न हुने उनले बताए।
सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् । प्रदेशमा नम्बर१ मा २५९, २ नम्बर प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् ।माओवादीले यसअघि यही मङ्सिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ । राष्ट्रिय सम्मेलनमार्फत माओवादीले आगामी कार्यदिशा निर्माण गर्ने बताएको छ ।


