काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भए पनि यी सबैले एकले अर्कालाई प्रधानमन्त्री बनाएको बताएका छन्।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सहकार्यको संस्कार अनुसार एकले अर्कालाई प्रधानमन्त्री बनाएका कारण नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भएको बताए।
पूर्ववक्ता भारतीय जनता पार्टीका एक नेताले एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री देख्न पाएको भन्दै गरेको टिप्पणीप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘उहाँ भर्खरै यहाँबाट गइसक्नु भएको छ, म उहाँलाई यी सबै पूर्व प्रधानमन्त्री एकले अर्कालाई बनाएका हुन् भन्न चाहन्थेँ ।’
उनले नेपालमा यस प्रकारको अनौठो संस्कृति विद्यमान रहेको पनि बताए । आफूहरुले आपसमा प्रतिस्पर्धा पनि गर्ने गरेको छर जरुरी पर्दा एकले अर्कालाई प्रधानमन्त्री पनि बनाउने गरेको उनको भनाइ थियो ।


