कैलाली। नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको तयारी पुरा भएको छ । आज धनगढीमा नेकपा माओवादी प्रदेश कमिटीले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो।
मंसिर २५ र २६ गते धनगढीमा हुने सम्मेलनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अत्याधुनिक प्रविधिको माध्यमबाट उद्घाटन गर्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम कमिटी इन्चार्ज खगराज भट्टले जानकारी दिए। उनले सम्मेलनका लागि मञ्च व्यवस्थापन,ब्यानर, स्टिकर, पम्प्लेट होटल व्यवस्थापनजस्ता सबै आवश्यक तयारी पुरा भएको बताए । उनले बन्द सर्तबाट २२३ जनाको कमिटी निर्माण गर्ने र पछि १० प्रतिशत थप गरेर कमिटीलाई पूर्णता दिने बताए ।
महिला ३५ प्रतिशत, युवा २० प्रतिशत दलित १५ प्रतिशत सहितको समावेशी कमिटी निर्माण गरेर सम्मेलन सम्पन्न हुने उनको भनाई छ । एकता, सदभाव, विश्वसनीयतालाई उचाइमा पुर्याई राजनीतिक, संवैधानिक संगठनिक जीवन सुधार बनाउँदै जनताको मनोभावना बुझ्ने पार्टी बनाउन सम्मेलन हन थालेको उनले बताए । पार्टीले सुदूरपश्चिमका बाढी पीडित, सुकुम्बासी, आरक्ष पीडितका समस्या समाधानका लागि डटेर लागि रहने उनले बताए ।
माओवादी केन्द्र सँधै जनताको दुःख सुखमा साथ दिएर अघि बढिरहने र यहि सन्देश दिनका लागि पनि सम्मेलन हुन थालेको उनले बताए ।यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्टले आगामी चुनावबाट माओवादी एक नम्बरको पार्टी बन्ने बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी अब २०६४ वरिपरिकै माओवादी बन्ने दिशातिर लम्किरहेको बताए। ‘यो १२ वर्षको बीचमा माओवादीले लडाई, फुट सबै व्यहोरी सक्यो’, इन्चार्ज भट्टले भने । ‘अब हामी अरु पार्टीभन्दा सबैभन्दा बढी सङ्गठित र एकीकृत छौं । त्यसैले आगामी चुनावबाट हामी २०६४ कै वरिपरिमा पुग्छौं ।’


