धनगढी। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको तयारी तीव्र पारेको छ । मंसिर २५ र २६ गते धनगढीमा हुने सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनका लागि आवश्यक तयारी तीव्र बनाइएको सो पार्टीले जनाएको छ ।
आगामी पुसको दोस्रोसाता काठमाडौंमा नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ। जस अन्तरगत नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको तयारी तीव्र पारिएको हो। माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले प्रदेशको प्रथम सम्मेलनको तयारी तीव्र पारेको छ । सम्मेलनलाई सफल पार्नका लागि विभिन्न समिति र उपसमिति गठन गरेर तयारीका कामहरु भइरहेको जनाएको छ ।
विभिन्न विभागीय समिति बनाएर सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्ने योजना बनाइएको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष शरदसिंह भण्डारीले जानकारी दिए। ७ वटै प्रदेशमा एकै साथ नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय प्रथम सम्मेलन हुन थालेको हो । सम्मेलनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै साथ काठमाडौंबाट उद्घाटन गर्ने उनले बताए ।
उनले प्रतिनिधिको सूची निर्वाचन समितिलाई दिएको र समितिले टुङ्गो लगाएपछि शुक्रबार मात्र फाइनल हुने बताए । करिब एक हजार एक सयको हाराहारीमा प्रतिनिधि सहभागी हुने उनको भनाइ छ। नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सहईन्चार्ज एवं प्रचारप्रसार विभाग प्रमुख विना मगरले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताइन् । सुदूरपश्चिमको ९ वटै जिल्लाबाट सम्मेलनमा सहभागी हुन नेता तथा कार्यकर्ता धनगढी आउन थालेको उनले बताइन् ।


