अछाम। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कसैको हातबाट टीका लगाएर आफूले पद लिन नचाहेको बताएका छन्। चितवनमा भएको दसौँ महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका उनी गृहजिल्ला अछाम पुगेर यस्तो बताएका हुन्।
‘म दसौँ महाधिवेशनमा पराजित भइसकेपछि कसरी अघि बढ्ने होला भन्ने भएको छ। तर केही साथीहरु विचलनको बाटो लागेका छन्’, उनले भने, ‘जहाँसम्म पदको कुरा छ। चितवनको त्यो मञ्चमा बसिरहँदा केपी शर्मा ओलीले तपाईं उपाध्यक्ष भइदिनुस् कृपया भन्नु भएको थियो। तर मैले तपाईं र म अध्यक्षमा प्रतिस्पर्धा गरौँ भनेको थिएँ।’ उनले आफू टीका लगाएर नेता हुन नचाहेको पनि बताए। ‘म टीका लगाएर उपाध्यक्ष हुन चाहेको होइन।
पार्टी अध्यक्षले तपाईं उपाध्यक्ष भइदिनुस् भनेर आग्रह गर्नु भएको हो’, उनले भने, ‘त्यसपछि केन्द्रीय सदस्य त मानिदिनुस् भनेको हो केपी ओलीले। तर मैले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेको होइन, म बस्दिनँ भनेर हिँडेको हो।’उनले टीका लगाएर नेतृत्व लिने रहर नभएको बताउँदै अध्यक्षमा पनि प्रतिस्पर्धा गरेर हारेकाले स्वाभिमान उच्च भएको तर्क गरे। रावलले आफूले जस्तै अरुले टीका लगाएर दिने पद चाहिँदैन भन्न नसकेको पनि बताए। त्यहीकारण अरु नेताहरुले टीका लगाएर पद लिएको भन्दै उनले कटाक्ष गरे।
‘भीम रावल अध्यक्ष पदमा पराजित भएर कहीँ जाला भन्ने लागेको होला। तर म जहाँ छु त्यहीँ छु’, उनले भने, ‘अब केही समयपछि हाम्रो देशमा स्थानीय र आमनिर्वाचन हुनेछ। अब हामी त्यता लाग्नुपर्नेछ। हामी जहाँ छौँ त्यहाँ अटल छौँ।’ उनले प्रतिस्पर्धा गरेर यो महाधिवेशनमा जबजको रक्षा गर्न सफल भएको पनि बताए। ‘यो महाधिवेशनमा जबजको रक्षा गर्न सफल भएँ। पार्टीमा यदि सबै नेताहरु हार्दिकतापूर्वक अर्को कुनै पदमा उठ्न चाहँदैनन् सर्वसम्मत हुन्छ। त्यसलाई म मान्छु’, उनले भने, ‘तर घेरामा पारेर महिलाहरुको हात समातेर तपाईंहरु लड्न पाउनुहुन्न भनिन्छ भने त्यो निरंकुशता हो।’ उनले चितवन महाधिवेशनको परिणामबाट अरु कतिपय साथीहरूमाथि अन्याय भएको पनि बताए। ‘केही साथीहरूमाथि पक्षपात भएको छ। अरुलाई पूर्वाग्रह गरिनु बेठीक हो’, उनले भने, ‘म त उपाध्यक्ष र केन्द्रीय सदस्य अस्वीकार गरेको मान्छे हो। जब मान्छे नैतिक र राजनीतिक रुपमा विश्वस्त हुन्छ भने मन खुम्च्याउनुपर्दैन। मैले हारेँ भन्ने मेरो मनमा छैन।’