काठमाडौं। एमसीसीको विरोधमा विभिन्न ६ पार्टीले मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय गरेको छ । बुधबार काठमाडौंमा बसेको दुई मोर्चा सहित विभिन्न ६ दलको बैठकले संसद भवन घेराउ गर्ने निर्णय गरेको हो ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा संगठनले एमसीसीको विरोधमा राजधानीका विभिन्न ठाउँमा प्रदर्शनसमेत गर्ने भएका छन्। ती पार्टी तथा मोर्चाले २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गर्ने निर्णयसमेत गरेका छन्।
त्यस्तै २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ । थप आवश्यकता परेमा त्यसै अनुसार कार्यक्रम तय गर्दै आन्दोलनलाई जारी राख्ने निर्णय भएको बताइएको छ। संघीय संसदको दुबै सदनको बैठक मंसिर २८ गते दिउँसो बस्ने तय भएको छ । उक्त बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने भन्दै आन्दोलनका कार्यक्रम तय गरिएको छ ।