काठमाडोैँ। नेपाली कांग्रेसको १४औं महाधिवेशन आउन अब दुई दिन मात्र बाँकी छ। संस्थापन र संस्थापन इतर समूहका नेताहरु टिम घोषणाको तयारीमा जुटेका छन्।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज आफ्नो पक्षका पदाधिकारी आकांक्षीसँग छलफल गर्दै हुनुहुन्छ। सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा पदाधिकारीका उम्मेदवार छान्न बैठक बोलाउनुभएको हो । १४औं महाधिवेशनमा संस्थापन पक्षका उम्मेदवारको प्यानल बनाउन बैठकमा छलफल हुने बताइएको छ।
सभापतिमा देउवाले आफू उम्मेदवार हुने यसअघि नै बताइसक्नुभएको छ। २ जना उपसभापतिको व्यवस्था रहेको कांग्रेसमा यसका लागि देउवा पक्षका ४ नेताले दाबी गरिरहेका छन् । हालका उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का उपसभापतिको मुख्य दाबेदार मानिएका छन्। संस्थापन पक्षबाट महामन्त्रीमा हाल सहमहामन्त्री रहेका प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, नेताहरू एनपी साउद, रमेश लेखक र प्रवक्ता विश्वप्रकाश शर्माको मुख्य दाबेदारी देखिएको छ ।
कांग्रेसमा सह-महामन्त्रीका दलिततर्फ देउवा समूहबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, लक्ष्मी परियार र सुजाता परियार दाबेदारी रहेको छ। मुस्लिम कोटाको सह९महामन्त्रीमा पनि देउवा समूहभित्रै चर्को प्रतिस्पर्धा छ।संस्थापन समूहबाटै केन्द्रीय सदस्य फर्मुल्ला मन्सुर र अत्तहर कमाल मुसलमानबीच प्रतिस्पर्धा छ। महिलातर्फको सह-महामन्त्रीमा संस्थापन पक्षका धेरै आकांक्षी छन्। चित्रलेखा यादव, पुष्पा भुसाल, डीना उपाध्याय, डा. डिला संग्रौला, ईश्वरी न्यौपाने र अम्बिका बस्नेतलगायत सह-महामन्त्रीका दाबेदार देखिएका छन्। यसैगरी आदिवासी जनजाति र मधेसीतर्फ सहमहामन्त्री छनोट गर्न पनि सभापति देउवालाई कठिन भएको छ। आज पदाधिकारीमा आकांक्षीबीच छलफल गरेर टिमलाई अन्तिम रुप दिने देउवाको तयारी छ ।