धनगढी। मेची महाकाली बुहारी संयुक्त आवाजद्धारा महिला हकहित तथा हिंसात्मक घटना रोकथामकालागी सुदुरपश्चिम प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ।
मेची महाकाली बुहारी संयुक्त आवाजको तर्फबाट प्रदेश संयोजक विद्या तिम्सिना,बझाङ संयोजक शान्ति महत जागरी,कैलाली संयोजक तथा नेपाली कांग्रेस नेपाल महिला संघको नगरसभापति जागृति बोगटी लगायत कार्यसमितिद्धारा सुदुरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई ज्ञापनपत्र बुझाइएको हो। ज्ञापनपत्र मार्फत महिलाको हकहित तथा समाजमा अप्रिय घटना रोकथाम गर्नका साथै जनचेतनामूलक समाज निर्माण समाजको हितमा काम गर्न माग गरिएको छ। साथै सामाजिक संघसंस्थाले पनि किटानी जाहेरी दिन सक्ने ऐनको निर्माण गर्न माग गरिएको छ। ज्ञापनपत्रमा उल्लेख गरिएको छ, नेपालको बिद्यमान कानुन प्रशासनिक सँरचना ब्यवहारमा पिडीत मैत्री देखीयो किनभने हरेक हत्या बलत्कारको घटनामा अपराधीले उन्मुक्ती पाउने र पिडीत पक्ष न्यायको लागी रुदै सडकमा हिड्नुपरेको अवस्था छ।
अपराधी पैसा र पहुँचको आधारमा खुलेआम उन्मुक्ती पाउने दुर्भाग्यपुर्ण अवस्था छ। संविधानले दिएको ३३ प्रतिशत महिला सहभागिताको अधिकार धोषणा भएको ६ बर्ष भएपनी महिलामाथी हुने हत्या, हिंसा, बलत्कार जस्ता जघन्य अपराघ कमी नभएको र झन बढ्दै गएको ज्ञापन पत्रमा उल्लेख गरेको छ। यस्तै महिलामा सबैभन्दा बढी बुहारीहरु दाईजोको निहुँमा जिउँदै जलाउने र हत्या हुने गरीएको छ । यस्ता घटना परिवारको दवाबका कारण जाहिरी दिन नसकिने र यदी जाहिरी दिएमा प्रहरीले जाहीरी लिन आनाकानी गर्ने, नमान्ने र उल्टै दोसीले उन्मुक्ती पाइरहेको अवस्थामा प्रदेश प्रमुखको ध्यानाकर्षण होस भन्ने कुरा ज्ञापनपत्र मार्फत जनाइएको छ। यस्तै परिवारले जाहिरी नदिएको अवस्थामा सामाजिक संघ सस्थाले पनी किटानी जाहीरी दिन सक्ने ऐन निमार्ण गर्न, कानुन कार्यान्वयन पक्ष पुर्ण रुपमा प्रभाबकारी सुनिश्चतता र न्यायीक पक्रियामा न्यायालयमा हुने ढिलासुस्ती हटाउन माग गरिएको छ ।