काठमाडौं। सर्वोच्च अदालतमा गोलाप्रथा लागु भएपछि अहिले हड्ताली न्यायाधीशहरु तनावमा परेका छन्। सुरुमा गोलाप्रथा लागु गर्ने न्यायाधीशहरु अहिले उक्त नियम लागु गर्न आनाकानीमा उत्रिएका छन्। मंसिर १५ गतेबाट गोलाप्रथा लागु भएपनि अहिलेसम्म राम्रोसँग मुद्दाको सुनुवाई हुन नसकेको आलोचना भैरहेको छ।
हुन त हड्ताली न्यायाधीशहरु सबै इजलासमा फर्किसकेका छन्। अहिले सर्वोच्च अदालतमा अर्को चर्चा पनि चल्न थालेको छ। न्यायाधीशहरु बुढेसकालमा विहानै ९ बजे अदालत आईपुग्नुपर्ने बाध्यता छ। गोलाप्रथा लागु भएपछि न्यायाधीशहरु विहान ९ बजे नै सर्वोच्च अदालतमा आईपुग्ने गरेका छन् । अहिले न्यायाधीशहरु कार्यालय समय सुरु हुनुभन्दा अघि नै अदालत पुग्ने गरेका छन्। र, गोलाबाट इजलास गठन हुने गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा त सुरुदेखि नै अदालतमा गोलाप्रथा लागु गर्ने मुडमा थिए। तर, अरु न्यायाधीशहरुले नै अत्तो थापेर गोलाप्रथा लागु गर्न नदिएको गुनासो अदालतभित्रैबाट आईरहेको छ। गोलाप्रथा लागु गर्नको लागि सुरुवातदेखि नै प्रतिवेदन तयार पार्ने हरिकृष्ण कार्की पनि अनिच्छुक थिए भन्ने चर्चा चलेको थियो । अहिले अवकाशको मुखमा पुगेका न्यायाधीशहरु गोलाप्रथा लागु भएपछि ठूलो तनावमा परेका छन्। विहानै कार्यालय पुग्नुपर्ने उनीहरुसामु बाध्यता छ।