धनगढी। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन्। प्रदेश सभापति वीरबहादुर बलायरसहितका पदाधिकारी तथा सदस्यहरुले सोमबार बिहान पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभापति वीरबहादुर बलायरले कांग्रेस इमान्दारिताका साथ अगाडि बढ्ने बताएका छन् । निर्वाचन समितिद्वारा सपथ ग्रहण कार्यक्रममा बोल्दै ‘कार्यकर्ताको घर दैलोमा गएर दुःख सुख साँट्दै कांग्रेसी भएकोमा गर्व गर्ने वातावरण बनाउन हामी लाग्छौँ ।’ कुनै पनि कांग्रेसको कार्यकर्ताले अब कांग्रेस भएको नाममा अपहेलित हुन नदिने कुराको ग्यारेन्टी सुनिश्चित गर्ने उनले बताए।
‘कांग्रेस भएकै कारण कसैले अब कोही अपहेलित हुँदैन,’ उनले भने,‘त्यसैले पार्टीका लागि निर्धक्क भएर अगाडि बढ्नुस् ।’ प्रदेशको अधिवेशन सकिएको बताउँदै २४ गतेबाट हुने केन्द्रीय अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई विजयी गराउन उनले कार्यकर्तालाई अपिल पनि गरे ।नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश निर्वाचनमा निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । नवनिर्वाचितहरुलाई निर्वाचन अधिकृत वीरबहादुर जेठाराले सपथ ग्रहण गराएका हुन् । कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश समितिका ५९ जनाले सामूहिकरुपमा सपथ लिएका हुन् ।
सपथ ग्रहणपछि प्रदेश समितिको पहिलो बैठक नेपाली कांग्रेसको कैलाली जिल्ला पार्टी कार्यालयमा बसेको छपूर्वमन्त्री वीरबहादुर बलायर कूल खसेका एक हजार ३ मध्ये ६ सय ८८ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले दुई सय ८० मत प्राप्त गरेका छन्। बलायर देउवा र मिश्र पौडेल पक्षका नेता हुन्। उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन्। चौधरीले ६ सय १० र अवस्थीले ५ सय २३ मत पाएका छन्। महामन्त्रीमा पनि देउवा पक्षकै नरनारायण शाह र मेघराज खड्का विजयी भएका छन्। शाहले ६ सय ४८ र खड्काले ६ सय ३५ मत पाएका छन्। सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेले जित हात पारेका छन्। तीनै जना देउवा पक्षका हुन्।