धनगढी। नेपाली काँग्रेस सुदूरपश्चिमका उम्मेदवार चयनका लागि धनगढीको निर्माण व्यवसायी संघ कैलालीको सभा हलमा मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेबाट ३ बजे सम्म मतदानको समय सिमा तोकेको निर्वाचन अधिकृत बिरबहादुर जेठाराले जानकारी दिए।
पार्टी व्यबस्थापनले ओम प्यालेसको हल १६ र १७ गते सम्मको लागि मात्रै बुक भएकोले कार्यक्रम तालिका बढेकोले मतदान कार्यक्रम निर्माण व्यबसायी संघ कैलालीको हलमा राखिएको होे ।प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन्। सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ।
यस्तै संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणी भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन्। यस्तै संस्थापन इतर पक्षबाट मिश्रले सभापतिमा उम्मेदवारी दिएका छन् भने उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिएका छन्। यस्तै काँग्रेस सुदूरपश्चिमको उपसभापतिमा हिम रावलको पनि उम्मेदवारी छ। तर उनले उम्मेदवारी फिर्ता लिएको र आफ्नो समर्थन वलायर समूहलाई रहेको भन्दै विज्ञप्ती जारी गरेका छन्। यस्तै सहमहामन्त्रीमा लक्ष्मण शाही, हर्क स्वार र डम्मरी महराको पनि उम्मेदवारी परेको छ।मतदान स्थलबाहिर काँग्रेसका प्रतिनिधि, नेता तथा कार्यकर्ताको भिडभाड बढेको छ।




