धनगढी। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश सभापतिमा रामचन्द्र पौडेल समूहबाट नारायण दत्त मिश्र उम्मेदवार दिने भएका छन्। नेपाली काँग्रेसको प्रथम सुदूर पश्चिम प्रदेश सभापतिमा पौडेल समूहले सभापतिमा मिश्रलाई उम्मेदवार बनाउने निधो गरेको जनाइएको छ।
पौडेल पक्षबाट कैलालीका नारायण दत्त मिश्रले सभापतिमा उम्मेदवारी दिने तय भएको एक नेताले जानकारी दिए। उनले भने, नतिजा जस्तो सुकै आएपनि हाम्रो समूहबाट मिश्र सभापतिका उम्मेदवार हुने तय भएको छ । नेपाली काँग्रेस सुदूरपश्चिमको अधिवेशनअन्तर्गत आज धनगढीमा मनोनय दर्ताको तालिका छ।
नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेल र डा शेखर कोईरालाले नै मिश्रलाई सभापतिमा उम्मेदवारी दिन आग्रह गरेको बताईएको छ । यसअघि हिजो धनगढीमा बसेको पौडेल समूहको बैठकले भने गोपाल गुरुङलाई सभापतिमा उठाउने निर्णय गरेको थियो।
केन्द्रको निर्णयपछि भने मिश्रले सभापति पदमा उम्मेदवारी दिने भएका हुन् । पौडेल समूहबाट महामन्त्री पदमा आकांक्षी धेरै भएका कारण देउवा पक्षधर बीचमा सहमतीकालागि पनि प्रयास जारी रहेको जनाइएको छ। यसअघि बिहान ८ बजेदेखि नै मनोनयन दर्ता हुने भनिएकोमा दिउँसो २ बजेदेखि मात्रै सुरु हुने भएको छ।
२ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता, ४ देखि ५ बजेसम्म दाबी विरोध, ५ बजेर २० मिनेटसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन, साढे ५ देखि साढे ६ बजेसम्म उम्मेदवारी फिर्ता र साढे ७ मा अन्तिम नामावली प्रकाशन गर्ने गरी कार्यतालिका रहेको छ।