धनगढी। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा सर्वसम्मतकालागि केन्द्रीय सदस्य वीरबहादुर बलायरको नाम अगाडि सारिएको छ । पार्टीको केन्द्रीय कार्यसमिति बाहिरमा नेताको नाममा सहमति हुन नसकेपछि प्रदेश सभापतिमा बलायरको नाम अगाडि सारिएको हो ।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा सुदूरपश्चिममा सभापतिको उम्मेदवारकालागि कैलालीका सभापति नरनारायण शाह (मनु), पूर्वराज्यमन्त्री गोविन्द शाह, पूर्वराज्यमन्त्री अर्जुनजंग सिंह, पुष्प शाही र प्रदेशसभा सदस्य गोविन्द बोहोराको दाबी छ।
उनीहरुबाट देउवा समूहलाई प्रदेश सभापतिको उम्मेदवारी छान्न सकस परेको छ । उनीहरुमध्ये एकले अर्कालाई छोड्ने परिस्थिति नबनेपछि नेता रमेश लेखकले बलायरको नाम अगाडि सारेका छन् । उनले भने, ‘ अहिलेसम्म साझा उम्मेदवार बनाउन सकिएको छैन । सर्वसम्मतिका लागि मैले वीरबहादुर बलायरजीको नाम विकल्पका रुपमा अगाडि सारेको छु ।’
बलायरलाई सर्वसम्मत बनाउने विषयमा पनि अहिलेसम्म सहमति भइनसकेको लेखकले जानकारी दिए । यता वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भरत खड्कालाई अघि सार्ने खोजेको छ । तर देउवा समूहमा दुई उम्मेदवार भए एउटा उम्मेदवारसँग मिलेर पदाधिकारीमा उम्मेदवारी दिने पौडेल पक्षको रणनीति छ । त्यसकालागि पौडेल पक्षले कैलालीका सभापति नरनारायण शाह (मनु)सँग छलफल गरिरहेको छ। आज कैलालीको धनगढीमा प्रदेश अधिवेशन उद्घाटनसत्र चलिरहेको छ।
त्यसको संयोजन कानुनमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूलाई तोकेर खटाएको छ। १६ प्रतिनिधि सभा र ३२ प्रदेश सभा क्षेत्रबाट निर्वाचित ९७५ महाधिवेशन प्रतिनिधि छन् । सुदूरपश्चिम प्रदेशमा पदाधिकारीसहित ५९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । उनीहरुले प्रदेश अधिवेशन प्रतिनिधिले सुदूरपश्चिम प्रदेश काँग्रेसको नयाँ नेतृत्व चयन गर्ने छन् ।