कैलाली। नेपाली कांग्रेसको प्रदेश तहको संरचना चयनका लागि आजबाट प्रदेश अधिवेशनको प्रक्रिया शुरु भइरहेको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन सुरु हुनै लाग्दा सुदूरपश्चिम प्रदेशमा सभापतिका सात जना आकाङ्क्षीहरू अघि बढेका छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार सातै प्रदेशमा आज प्रदेश अधिवेशनका लागि मतदाता नामावली प्रकाशित हुँदैछ । बिहीबार दिउँसो १ बजे धनगढीको ओम पार्टी प्यालेसमा प्रदेश अधिवेशन उद्घाटन हुने कार्यतालिका रहेको प्रदेश अधिवेशन प्रचारप्रसार समिति संयोजक नृपबहादुर सुनारले जानकारी दिए।
उनका अनुसार बिहीबार प्रदेश अधिवेशन उद्घाटन हुने र यस्तै भोलि शुक्रवार मनोनयन गरेर शनिवार मतदान हुने कार्यतालिका छ । कांग्रेसले हालको विधान अनुसार आफ्नो संरचनालाई पहिलो पटक प्रदेश तहमा कार्यान्वयन गर्न लागेको हो। प्रदेश तहको अधिवेशनका लागि कांग्रेसमा गुटअनुसार नै उम्मेदवार बन्ने सम्भावना बढेको छ। सुदूरपश्चिम प्रदेशमा सभापति बन्ने दौडमा नरनारायण शाह मनु, हिमबहादुर रावल, अर्जुनजंगबहादुर सिंह, पुष्पबहादुर शाही, गोविन्दबहादुर शाह, वीरबहादुर बलायर र भरतबहादुर खड्का गरी सात जना अघि बढेका छन् । यीमध्ये नारायण कैलालीका पूर्व सभापति हुन् । हिमबहादुर कैलाली क्षेत्र नम्बर २ बाट प्रदेश सभाका उम्मेदवार थिए । यस्तै अर्जुनजंग बझाङका हुन् उनी पूर्व राज्यमन्त्रीसमेत हुन्।
यसैगरी पुष्प डोटीबाट राजनीतिमा सक्रिय छन् भने गोविन्द अछामबाट सक्रिय छन्। उनीसमेत पूर्व राज्यमन्त्री हुन् । यसैगरी वीरबहादुर हाल कांग्रेस केन्द्रीय सदस्य छन् भने उनी केन्द्र सरकारमा भौतिक मन्त्रीसमेत भइसकेका नेता हुन् । भरत भने डोटीबाट राजनीतिमा सक्रिय छन् । सुदूरपश्चिमबाट प्रदेश सभापतिमा आकांक्षा राख्नेहरु भरत बाहेक अरु सबै संस्थापन समूह निकट मानिन्छन् । भरत भने इतर समूहका हुन् । उनी संविधान सभा सदस्य समेत हुन् । हाल उनी प्रदेश सांसद छन् ।
संस्थापन समूहले भने यो प्रदेशमा वीरबहादुरलाई बलियो उम्मेदवारका रुपमा राखेको छ । उनी केन्द्रीय राजनीतिमासमेत प्रभाव राख्नेमा पर्छन् । प्रदेश तहको नेतृत्व चयनका लागि मतदान भने १८ मंसिरमा हुने कार्यतालिका छ । तर संस्थापन र इतर पक्षले अहिलेसम्म यो प्रदेशमा कसलाई उम्मेदवार बनाउने भन्ने तय गरिसकेको छैन। कांग्रेसको संस्थापन इतर पक्षले विभिन्न प्रदेशमा उम्मेदवार चुन्न परामर्श टोली नै बनाएको छ । जसअनुसार बागमती प्रदेशमा जगदीशनरसिंह केसीलाई अगाडि सारिसकेको छ ।त्यस्तै सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडू र बद्री पाण्डेलाई उम्मेदवार छान्ने जिम्मा दिइएको छ । उक्त टोलीले आकांक्षीहरुसँग छलफल गरी निर्णयमा पुग्नेछ ।