काठमाडौं। एमालेको १० औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा अध्यक्ष पदमा हारे पनि भीम रावल केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन्।
अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवार बनेका रावलले २२३ मत मात्र प्राप्त गरे । भारी मतान्तरसहित ओली पुनः अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा हारे पनि रावल केन्द्रीय सदस्यमा भने निर्वाचित भए। उनले केन्द्रीय सदस्यमा ९ सय ४ मत प्राप्त गरेका छन् । मतगणना सम्पन्न भएपछि अध्यक्ष केपी शर्मा ओलीले शपथ लिएका छन् ।
साथै विजयी पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई पनि अध्यक्ष ओलीले नै शपथ खुवाए । तर, भीम रावलले भने शपथ लिएनन् । केन्द्रीय सदस्यहरुको शपथग्रहण हुँदै गर्दा रावल आफ्नो कुर्सीबाट उठेनन्। उनले यसअघि नै अध्यक्षमा हारेको अवस्थामा भने एमालेका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरिसकेका थिए।
सोही अनुसार रावलले केन्द्रीय सदस्यमा जिते पनि शपथ भने लिएनन् ।यस्तै, निर्वाचनमा भाग लिएका टंक कार्की भने सचिव र केन्द्रीय सदस्य दुवैमा पराजित भएका छन् । यता उपाध्यक्षका लागि उम्मेदवार बनेका घनश्याम भुसाल पनि केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् ।