काठमाडौँ। नेकपा एमालेको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । पार्टी अध्यक्षले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीबारे छलफल गर्न बैठक बसेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली सहमतिको प्रस्ताव बोकेर महाधिवेशनको बन्दसत्र हलमा प्रवेश गरेपछि अध्यक्षमण्डलको बैठक सुरु भएको छ ।अध्यक्षमण्डलको बैठकले अब महाधिवेशनका आजको कार्यक्रम र निर्वाचन लगायतका प्रक्रियाबारे निर्णय गर्ने छ । ओलीले सहमतिका लागि पेस गरेको प्रस्ताव पनि बन्दसत्रमा पेस गर्ने तयारी छ ।अध्यक्ष ओलीले दिनभर ३०१ जना केन्द्रीय सदस्यहरूमा कसलाई राख्ने भन्नेबारे छलफल गरेका थिए ।
करिब सहमतिको खाका तयार भएकाले बन्दसत्र सुरु भएको हो । कमिटीको नाम प्रस्ताव गर्ने सर्वाधिकार पाएका ओलीले बन्दसत्र रोकेर दिनभर नेताहरुसँग छलफल गरेका थिए । नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यहरुको सूची तयार पारेका थिए। तर पदाधिकारीमा सहमति जुट्न सकेन । ओलीले अध्यक्षका दावेदार भीम रावल तथा वरिष्ठ उपाध्यक्षका दावेदारद्धय ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङसँग छलफल गर्न चाहेका थिए । अध्यक्ष मण्डलमा तीनै जना नेता छन् ।