धनगढी। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको प्रदेश अधिवेशनकालागि नेपाली कांग्रेस कैलाली शाखाले तयारी तीव्र थालेको छ। यतिबेला नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि पाँच जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
धनगढीको ओम प्यालेसमा हुने अधिवेशनका लागि प्रतिनिधिका लागि आवास र खानपिनको बन्दोवस्त गरिसकिएको १४ औँ महाधिवेशन प्रचार प्रसार समिति कैलालीले जनाएको छ। मंसिर १६ र १७ गते धनगढीमा आयोजना हुने प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा सभापतिका लागि पाँच जनाले उम्मेदवारी घोषणा गरेका हुन्।
नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वमन्त्रीदेखि प्रदेश सभा सदस्यका उम्मेदवारसम्मले उम्मेदवारी घोषणा गरेका छन्। प्रदेश सभापतिका लागि अहिले सामाजिक सञ्जाल तथा आफ्ना पक्षका मतदातालाई रिझाउनमै व्यस्त देखीएका छन्। सुदूरपश्चिम प्रदेश सभापतिका लागि नरनारायण शाह ‘मनु’, अर्जुन जंग बहादुर सिंह, गोविन्दबहादुर शाह, पुष्पकुमार शाही र हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा गर्ने नरनारायण शाह कैलालीका जिल्ला सभापति हुन् । उनी दुई कार्यकाल जिल्ला सभापति भएर कैलाली कांग्रेस चलाएको अनुभव छ । बझाङका अर्जुन जंगबहादुर सिंह पूर्व परराष्ट्र राज्यमन्त्रीका साथै कोरियाका लागि पूर्व नेपाली राजदूत भइसकेका व्यक्ति हुन् ।अछामबाट पूर्व सञ्चार राज्यमन्त्री समेत भइसकेका गोविन्दबहादुर शाहको पनि उम्मेदवारी रहेको छ।
यस्तै डोटीबाट पुष्पकुमार शाहीले पनि उम्मेदवारी घोषणा गरेका छन्। शाही नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत हुन् । कैलाली लम्कीका हिमबहादुर रावलले पनि उम्मेदवारी घोषणा गरेका छन् । रावल प्रदेश सभा निर्वाचनमा प्रदेश सभाका उम्मेदवार भएका थिए ।सुदूरपश्चिम प्रदेशका लागि सभापति १, उप सभापतिमा २, महामन्त्रीमा २, सहमहामन्त्रीमा एक महिलासहित ३ जना र ५१ जना सदस्यसहितको छनोट हुने नेपाली काँग्रेसले जनाएको छ ।