काठमाडौं। नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन्। स्रोतका अनुसार वर्तमान केन्द्रीय सदस्यहरुलाई निरन्तरता दिइएको छ भने अरु नाम क्लस्टर मिलाएर थपिएको छ ।
सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो । ओलीले विहान १० बने बन्दसत्र राखेका थिए। तर बन्दसत्र रोकेर छलफलमा जुटेका उनले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा चार नेतालाई दिएका थिए।
ओलीले संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउन दिएका हुन् । चार नेताले पार्क सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाएका छन् । आफूहरुले पदाधिकारीसहित केन्द्रीय सदस्यको सूची तयार पारेर अध्यक्ष ओलीलाई बुझाएको सचिव गुरुङले बताए ।अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ ।