काठमाडौं। नेकपा एमालेमा १० महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेका बेला अध्यक्षका दाबेदार भीम रावलले भोट माग्न थालेका छन् । उनले महाधिवेशनको बन्दसत्र हलभित्र प्रतिनिधिसँग भोट माग्न थालेका हुन् ।
उनले प्रतिनिधिसँग आफूलाई विश्वास गरेर भोट दिन आग्रह गरिरहेका छन् । यसअघि शुक्रबार साँझ पनि आफूले दिएको उम्मेदवारी फिर्ता नलिने बताएका थिए । केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारीको संख्या बढाएपछि सर्वसम्मत हुने अपेक्षा गरिएको थियो ।
तर अहिलेसम्म पनि छलफल नहुँदा सर्वसम्मत हुने सम्भावना कम हुँदै गरेको छ। यसैबीच रावलले अध्यक्षमा भोट नै माग्न थालेपछि निर्वाचन हुने सम्भावना थप बढेको हो ।अध्यक्ष ओलीले भने नेतृत्व चयनको प्रक्रियालाई सर्वसम्मत गराउन भन्दै शुक्रबारको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव गर्दै केन्द्रीय कमिटी,पदाधिकारी र स्थायी कमिटीको संख्या बढाएका थिए ।
नयाँ प्रस्ताव अनुसार रावलसहित असन्तुष्ट नेताहरूलाई पनि समेटिने अपेक्षा गरिएको थियो । रावलले भने शनिबार दिउँसोसम्म आफू अध्यक्ष पदको उम्मेदवारीबाट पछि नहट्ने भन्दैआएका छन् । अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष बनाउने गरी नेता रावललाई प्रस्ताव गरे पनि उनले अस्वीकार गरेर अध्यक्षमै प्रतिस्पर्धा गर्ने अडान लिएको बुझिएको छ ।


